सम्पर्क

जिल्ला प्रशासन सिन्धुपाल्चोकद्वारा विपद् पूर्व तयारी तथा प्रतिकार्य विषयमा अन्तरक्रिया

जिल्ला प्रशासन कार्यालयले “विपद् पूर्व तयारी तथा प्रतिकार्य“ विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । सिन्धुपाल्चोक जिल्ला विपद्को उच्च जोखिम जिल्ला रहेकोले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, पूर्व सूचना प्रणालीको सुदृढीकरण र स्थानीय तहहरूसँगको सहकार्यका विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षता भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै अब केही दिनमा मनसुन भित्रिले हुँदा विपद् पूर्व तयारी अति आवश्यक रहेकोले यो अन्तरक्रियाको अति महत्त्व रहेको बताउनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बाह्रबिसे, भोटेकोसी लगायत विभिन्न क्षेत्रहरू उच्च जोखिममा रहेको हुँदा उक्त क्षेत्रलाई मध्यनजर गरेर अगाडी बढ्न सबैलाई अनुरोध गर्नुभयो । हिजोको दिनमा विपदबाट धेरै जनधनको क्षति भए तापनि आगामी दिनमा त्यस्तो क्षति व्यहोर्नु नपरोस् भन्नका लागी यो कार्यक्रमको अति महत्त्व रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्ला प्रशासन कार्यालयले विगतका दिनहरूमा पनि विपद् व्यवस्थापनमा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको बताउनु हुँदै विपद् बाजा बजाएर आउँदैन अपर्झट कहाँ कति खेर आउँछ भन्ने थाहा नभए पनि अति जोखिम सम्भावित क्षेत्र र समयमा सतर्कता अपनाउन पर्ने बताउनु भयो । उहाँले विशेष गरी सिन्धुपाल्चोकमा बढी जस्तो बाढी पहिरो र आगजनी रहेकाले यसको रोकथामका लागी सबैले चासो दिन पर्ने बताउनु हुँदै आगामी दिनमा पनि हुन सक्ने विपत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग सँगसँगै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जिल्ला बिपत व्यवस्थापनको तर्फबाट गर्न सक्ने र हुन सक्नै सबै खालका कामहरू गरिरहेको र आगामी दिनमा पनि सतर्कताका साथ गरिने बताउनु भयो । कार्यक्रममा मेलम्ची नगरपालिकाको नगरप्रमुख आईतमान तामाङले राज्यले विपद् पुर्वतयारीको लागि स्पष्ट नीति र बजेट व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०७८ सालमा आएको बाढीमा मानवीय क्षति नभए पनि भौतिक क्षति भएकाले अब भौतिक क्षति पनि कम हुने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सङ्घ र प्रदेशले मेलम्ची क्षेत्रमा बजेट हाले पनि बस्ती संरक्षण हुन नसकेको नगर प्रमुख तामाङले बताउनुभयो । यस्तै भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले विपतको उच्च जोखिम रहेको क्षेत्र भोटेकोसी भएको कारणले त्यसतर्फ विशेष ध्यान दिनपर्ने बताउनुभयो । हिजोको दिनहरूमा जे जस्तो बाधा समस्या भोग्नुपरे पनि आगामी दिनहरूमा त्यस्तो समस्या भोग्न नपरोस् भन्नुभयो ।

उहाँले बिजुली, इन्टरनेट जस्ता कुराहरूले पनि विपत्तको बेला जानकारी तथा सूचना आदानप्रदानमा समेत समस्या भएको बताउनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले विपद् पूर्वतयारीमा सांसदहरूको उल्लेखनीय भूमिका रहेको र उहाँहरू नै कार्यक्रममा उपस्थित नहुँदा विपद्को गुनासो कसलाई सुनाउने भन्नुभयो । सिन्धुपाल्चोकमा सांसद माननीयहरू धेरै भएको जिल्ला भए तापनि विपद्को विषयमा कसैले पनि चाँसो नदेखाई यस्तो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित नहुँदा दुख लागेको समेत बताउनुभयो । उहाँले विगतमा यस जिल्लामा परेको बिपतका कारण थुप्रै व्यवसायीहरू मर्कामा परेको नजिर हामी सबै सामु छ , यस तर्फ माननीयहरूको बेलैमा ध्यान जान जरुरी छ, यस्तो महत्त्वपूर्ण कार्यक्रममा माननीयहरू आफू अनुपस्थित हुनुले जनमानसमा जाने सन्देश कस्तो होला भनी प्रश्न गर्नुभयो ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा मेलम्ची नगरपालिकाको प्रमुख आईतमान तामाङ, भोटेकोसी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पा, सडक विभागका प्रमुख, रेडक्रस कार्यालयका प्रमुख, सुरक्षा निकायहरू, स्वास्थ्यकर्मीहरू, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।