सुरक्षित आप्रवासन परियोजना (सामी)ले जिल्ला तहमा पत्रकारहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धीे अन्तरक्रिया गरेको छ ।
मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी सुरक्षित बैदेशिक रोजगारका सवालहरुमा छलफल गरिएको हो । सिन्धुपाल्चोक जिल्लाका ६ वटा पालिकामा सञ्चालित कार्यक्रमको प्रभावकाबारेमासामी कार्यक्रमका संयोजक अरुण पौडेलले जानकारी दिनुभएको थियो । संयोजक पौडेलले कार्यक्रममा सहजिकरण गर्दै बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सूचना र न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरता जस्ता कार्यक्रमहरु नियमित सञ्चालन गरिएको बताउनु भयो । उहाँले वैदेशिक रोजगारमा गएकाहरुको उद्धारका लागि तथा वैदेशिक रोजगारमा जानेहरुका लागि सुरक्षित, मर्यादित र भरपर्दाे सीप सिकेर मात्रै जान यस परियोजनाले सुझाव दिने गरेको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारमा श्रम स्वीकृत विना भारतको बाटो भएर विभिन्न देशमा नेपालीहरु बेचिएको र विभिन्न पीडा, यातना, बिचल्ली, आर्थिक रुपमा समेत समस्या भोग्नु परेको कुरा यो कार्यक्रम पश्चात आम जनसमुदायमा सञ्चारको माध्यमबाट सचेत हुने विश्वास रहेको बताउनु भयो ।
हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यो कार्यक्रम चलिरहेको छ । सिन्धुपाल्चोकबाट आर्थिक वर्ष २०८०÷०८१ मा ७ लाख ४१ हजार २ सय ९७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक रहेको छ । तथ्यांककै अनुसार नेपालभरबाट सबैभन्दा बढी श्रम स्वीकृति लिएर विदेश जानेमा बागमती प्रदेश पहिलो रहेको छ । बैदेशिक रोजगारमा जादा मृत्यदर र अङ्गभङ्ग हुने दरलाई न्युनीकरण जोड दिएको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दंगालले बैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सबैजना एकजुट भएर लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई समापन गर्दै उहाँले सुरक्षित आप्रवासन कार्यक्रम भनेकै बैदेशिक रोजगारमा जानुअघि जानकारी लिएर जानु भन्ने कार्यक्रम हो भन्नुभयो ।
उहाँले बैदेशिक रोजगारको विषयमा सबैको उत्तिकै महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । विदेशबाट कमाएर पठाएको रकमको सही उपयोग गराउन, उनीहरुको परिवारका सदस्यलाई उद्यमशीलता तथा मनोसामाजिक परामर्शका लागि पनि सामीले भूमिका निर्वाह गर्दै आएको छ ।
