सम्पर्क

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

 तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्नुभएको छ । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिनुभएको थियो । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त गरिसकेपछि ८ डानको लागि ७ वर्ष, ९ डानको लागि ८ वर्ष तेक्वान्दोमै निरन्तर क्रियाशील रहनुपर्नेसमेत उहाँले जनाउनसभयो ।
यो उपाधि प्राप्त गर्नु अत्यन्तै कठिन छ । दुई दशकअघि देखि गुरुङसँग परिचित रहेको बताउने उनले यसले तेक्वान्दोप्रति समर्पित सम्पूर्ण खेलाडी र देशकै शिर उचो बनाएको बताउनुभयो । यो उपाधि प्राप्त गर्ने व्यक्तिलाई संसारभर अत्यन्तै सम्मानजनकरूपमा ग्राण्डमास्टरका नामले सम्बोधन गरिन्छ ।
नेप्लिज तेक्वान्दो महासंघका अध्यक्ष दीपक खड्काले समेत तुलसी गुरुङबाहेक अरू कसैले ९ डान प्राप्त गरेको जानकारी नभएको बताृउनुभयो । ४०÷४५ वर्ष निरन्तर तेक्वान्दोमै क्रियाशील रहेर शारीरिकरूपमा तन्दुरुस्त हुनुपर्ने भएकाले पनि यो प्राप्त गर्नु अत्यन्तै कठिन रहेको उहाँको भनाइ थियो ।
१७ वर्षको उमेरदेखि तेक्वान्दोमा सक्रिय गुरुङले ९ डान परीक्षा पास गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । ६३ वर्षका उहाँ हङकङमा बसोबासरत छन् । उहाँ हङकङ तेक्वान्दोका प्रमुख प्रशिक्षकसमेत रहिसकेका छन् । हङकङको खेलकुद इतिहासमा यो स्थान हासिल गर्ने गुरुङ पहिलो नेपाली हुन् । पूर्वब्रिटिस गोर्खा सैनिक उनी सन् १९८२ र १९८३ मा आयोजित ‘हङकङ ओपन ब्ल्याक बेल्ट कम्पिटिसन’ का स्वर्ण पदक विजेता हुन् ।
सन् १९८३ मा उहाँले हङकङको प्रतिनिधित्व गर्दै डेनमार्कको कोपनहेगनमा आयोजित ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’ मा सहभागिता जनाउनुभएको थियो । ब्रिटिस सैनिक खेलाडीबीचको प्रतिस्पर्धामा सर्वोत्कृष्ट भएपछि उनलाई हङकङ ओपनमा भिड्ने अवसर जुरेको थियो । सन् १९९३ मा अमेरिकामा आयोजित विश्व तेक्वान्दो च्याम्पियनसिप र १९९५ थाइल्याण्डमा आयोजित इष्ट एसियन गेम्समा गुरुङ अफिसियल रेफ्री थिए । त्यसो त नेपाली खेलकुदमा समेत उहाँले इतिहास रच्नुभएको छ ।
२०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा गुरुङले मार्सल आट्र्सतर्फ स्वर्ण पदकसहित उत्कृष्ट फाइटरको उपाधि जितेका थिए । त्यतिबेला कराँतेका चर्चित खेलाडी मोहन राईलाई गुरुङले क्वाटरफाइनलमा पराजित गरेका थिए । सेनाबाट अवकाश लिइसकेपछि पनि उहाँ निरन्तर तेक्वान्दोमै सक्रिय रहनुभएको थियो । सन् २००१ मा गुरुङले ‘हङकङ नेप्लिज तेक्वान्दो महासंघ’ दर्ता गरेका थिए । त्यसयता उहाँको प्रशिक्षणमा २ हजारभन्दा बढीले ब्ल्याक बेल्ट लिइसकेका छन् ।