सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा डढेलो नियन्त्रण सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
सामुदायिक वनलाई सक्रिय बनाएर डढेलो नियन्त्रणमा जिम्मेवार बनाउन सव डिभिजन वन कार्यालय चौताराले स्थलगत अभ्यास गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित कल्लेरी सामुदायिक वनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन रक्षक तथा कर्मचारीहरूसहित समुदायका ४० बढीको सहभागिता सोमबार फिल्ड अभ्यास गरेको थियो । सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र सदुपयोगलाई ध्यानमा राख्दै सामुदायिक वनलाई डढेलोबाट जोगाउन अग्नि रेखा निमार्णसंँगै सुरक्षित डढेलो, डढेलो नियन्त्रण अभ्यास, पुर्व तयारी लगायतका विषयमा सक्षम बनाउन स्थलगत अभ्यास गरिएको रेन्जर कमला श्रेष्ठले बताउँनु भयो । डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका हरित स्वयमसेवक संयोजक शारदा प्रसाद चालिसेले वन डढेलो नियन्त्रणको सैद्धान्तिक र व्यवहारिक पक्षबारे संयुक्त अभ्यास गराएका हुन् । कार्यक्रममा वन डढेलो, यसका असर, नियन्त्रणका उपायहरु लगायतका सैद्धान्तिक विषयमा सहजिकरण गरिएको थियो भने डढेलो नियन्त्रणको व्यवहारिक अभ्यास गरिएको हो । गर्मीयाममा सुरु भएसँगै दिनहुँजसो आगलागीका घटनाहरु भइरहेका छन् । हरित स्वयमसेवक संयोजक चालिसेका अनुसार विगतमा जिल्लाका सामुदायिक वन क्षेत्रमा बढी मात्रामा डढेलो लाग्ने गरेकोमा यो वर्ष कमी आएको छ । दिनहुँ वन क्षेत्रमा आगलागीका घटनाहरु भइरहेकोले स्थानीयवासी हरुलाई सहज तथा सतर्क रहन आग्रह गर्दै डिभिजन बन कार्यालयले सामुदायिक वनमा अग्नि रेखा निमार्णको लागि यो वर्ष बजेट ब्यवस्थापन गरेर काम गरीरहेको छ । पछिल्लो एक महिनाको अवधिमा वनमा आगलागी भएपनि तुरुन्त नियन्त्रणमा ल्याउन सफल भएको चालिसेको भनाइ छ । आगलागीको मुख्य कारण भने नयाँ घाँस पलाउने सोचका कारण पुरानो खरमा आगो लगाउने गलत चलन रहेको छ । त्यसैगरि चुरोटका ठुटाहरू जथाभावि फाल्ने, बालबालिकाले आगो लगाउने, भिरालो वन क्षेत्रमा ढुङ्गा खस्ने लगायतका कारण आगलागी हुने गरेको छ ।
आगलागीबाट वन्यजन्तु तथा विभिन्न प्रजातिका बोटबिरुवामा ठुलो मात्रामा क्षती हुने भन्दै डढेलोबाट सामुदायिक वन जोगाउन जिल्लामा डिभिजन वन कार्यालयले सामुदायिक वनसँगको सहभागीतामा कार्य गर्दै आएको छ ।
