सम्पर्क

उत्थानशिल समुदायका लागि पहिरो पुर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीयकरण सम्बन्धि सञ्चारकर्मीहरुसँग अभिमुखीकरण

उत्थानशिल समुदायका लागि पहिरो पुर्वसूचना प्रणालीको सुदृढीकरण र स्थानीयकरण सम्बन्धि सिन्धुपाल्चोकका पत्रकार तथा मिडिया प्रतिनिधीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।  शुक्रबार स्ट्रेलियन एड र प्राक्टिकल एक्सनको सहयोगमा सामुदायिक वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा सदरमुकाम चौतारामा जिल्लामा सक्रिय सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले चौतारामा गरेको कार्यक्रममा सूचनाले काम गर्न सजिलो हुने बताउँदै सबैले सुशासनकै लागी काम गर्ने भएकोले आग्रह पुर्वाग्रह नभई सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले विपद्मा सही सूचना प्रवाह हुन नसकेमा गम्भीर क्षति भोग्न पर्ने अवस्था आउन सक्ने भएकोले समन्वय र सहकार्यलाई व्यवस्थित गर्न जरुरी रहेको बताउनुभको छ ।

जलवायु विज्ञ धरमराज उप्रेतीले संस्थाले गरिरहेको कामहरूको बारेमा भर्चुअल रूपमा जानकारी दिँदै पूर्व सूचनाको लागी प्रविधि विकाससँगै खोलामा बगेको पानी समेत कति छ भनेर सजिलै थाहा पाउन सकिने अवस्थामा आइपुगेको बताउनुभयो । अहिले मानवसमाजले जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताले गर्दा समस्या भोगिरहेको उहाँले बताउनुभयो । विपदले भौतिक र आर्थिक क्षति मात्रै नभै गैह्रआर्थिक क्षेत्रमा पनि धेरै क्षति हुने गरेको जानकारी दिनुभयो । सबै स्थानमा जोखिमको लेबल फरक हुने भएकोले सबै पक्षले बुझ्नुपर्ने बताउँदै विपदमा २४ घण्टा अघि मात्रै सूचना दिन सके पनि ३० प्रतिशतसम्म क्षति कम हुन सक्ने उहाँको भनाइ थियो ।  पूर्व सूचना प्रणाली प्रभावकारी रिपोर्टिङका बारेमा आफ्नो प्रस्तुति दिँदै वरिष्ठ पत्रकार दिपक अधिकारीले पत्रकारिता पेशा भनेको पहिला आफूले बुझ्ने र बुझाउने पेशा भएको बताउनुभयो । पत्रकारले विज्ञसँग मात्र बुझेर समुदायमा तथ्यपरक सूचना दिन सकिने भएकोले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्राक्टिकल एक्सनका प्रोजेक्ट म्यानेजर विना खड्काले वर्षामा आधारित पहिरो पूर्व सूचना प्रणालीको बारेमा आफ्नो प्रस्तुति दिँदै बिगत ३ बर्ष देखि यस क्षेत्रमा कार्य गरेको बताउनुभयो । रिसर्च हेर्दा पाँचपोखरी र हेलम्बुमा सुरक्षित स्थान भेट्टाउनै गाह्रो रहेको भन्दै पुर्व सुचना प्रणालीले ज्यान जोगाउन सहज हुने उहाँले बताउनुभयो । त्यस्तै यी पालिकाहरूमा जोखिम न्यूनीकरणको सवालमा नेपालमै पहिलो पटक पहिरो पूर्व सूचना प्रणाली प्रयोगमा ल्याइएको बताउनुभयो ।

उक्त क्षेत्रमा १६ ओटा स्वचालित हावापानी मापक यन्त्र जडान गरेको जानकारी दिँदै काम गर्न अब केही सहज हुने बताउनुभयो ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका विपद फोकल पर्सन नारायण क्षेत्रीले पालिकाले गरेको विपद पूर्व तयारीमा पहिला र अहिलेको अवस्था, पालिकाको आगामी योजना र चुनौतीको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो । सहायक जिल्ला अधिकारी गणेश नेपालीको प्रमुख आतिथ्यतामा र सामुदायीक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष इश्वरी अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरू, संस्थाका कर्मचारीहरू लगायतको उपस्थिती रहेको थियो ।