सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा शनिबार सम्पन्न आठौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ को उपाधि सेतीदेवी तेक्वान्दो डोजाङ सुनकोशी गाउँपालिकाले जितेको छ । बाह्रबिसे नगरपालिका–२ स्थित कर्थली डोजाङद्वारा आयोजित जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र एक कास्य पदक जित्दै सेतीदेवी डोजाङका खेलाडी प्रथम स्थान हासिल गरेको हो । २३ स्वर्ण पदकका लागि गरिएको प्रतियोगितामा जिल्लाभरबाट दस वटा डोजाङका एक सय ३४ खेलाडीको विभिन्न विधामा प्रतिस्पर्धा चलेको थियो । जसमा ६ स्वर्ण, ४ रजत, २ कास्य पदकसहित आयोजक कर्थली तेक्वान्दो डोजाङ द्वितीय र ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित हीराहरी डोजाङ चौतारा तृतीय भएको बाह्रबिसे नगर कर्थली तेक्वान्दो डोजाङका अध्यक्ष दिपक खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्कृष्ट पुरुष र महिला खेलाडीतर्फ क्रमशः २० केजी तौल समूहमा ऐंसेलुखर्कका सौगात तामाङ र हिराहरीकी ३८–४२ तौलमा सलिना चुहानले उपाधि उचालेका छन् ।