दर्शन सुनार/लोकप्रिय दैनिक
प्रवासी भुजेल समाज कतारको आयोजनामा कतारमा “बृहत् रक्तदान“ कार्यक्रम सम्पन्न भएको छ । प्रवासी भुजेल समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा कतारमा रहेका नेपालीहरुले रक्तदान गरेका छन् ।
शुक्रबार कतारको नेशनल ब्लड डोनेसन सेन्टरमा समाजका अध्यक्ष बिकाश भुजेलले रक्तदान गर्दै शुभारम्भ गरिएको कार्यक्रममा ३३ जना नेपालीहरुले रक्तदान गरेका हुन । नेपाली रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले ७० जनाले रजिष्ट्रेसन गरेका मध्य ३३ जनाले रक्तदान गर्न सफल रहेको र ३७ जना रक्तदान गर्नबाट बञ्चित भएको जानकारी दिनुभयो ।
“मानविय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पुर्ण रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गर्दै समाजका अध्यक्ष बिकाश भुजेलले धन्यवाद प्रकट गर्नुभएको थियो ।
“रक्तदान जिवनदान“ भन्ने मुल नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदी,“दार्शनिक डा. योगी विकाशानन्द, गुरुमा कमलेश्वरी आनन्दसँगै कतारमा स्थापित विभिन्न संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधि पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । बिहान ८ बजे देखि दिउँसो १ बजे सम्म चलेको रक्तदान कार्यक्रममा अन्तिम रक्तदान समाजका सल्लाहकार शिव बहादुर भुजेलले गर्नुभएको थियो ।
