नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शुक्रबार शिक्षक आन्दोलनबारे शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी साथ ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकमा ध्यानाकर्षण पत्र इकाइ प्रमुख बैकुण्ठ सुवेदीलाई बुझाउने कार्य सम्पन्न भएको हो । शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो ।
निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको आरोप उनीहरुको छ । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा ल्याएर सेवासुविधा सहितको पेशाको ग्यारेन्टी हुनुपर्ने विरोधमा उत्रिएका शिक्षकहरुले माग राखेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाको नेतृत्वमा नेपाल शिक्षक महासंघ जिल्ला समितिको पदाधिकारी तथा सदस्यहरु,नेपाल शिक्षक महासंघ स्थानीय समितिको अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल शिक्षक संघ,नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठन,नेपाल राहत शिक्षक जिल्ला समिति,नेपाल विद्यालय कर्मचारी परिषदको जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको साथै पेशागत संघ संगठन र घटकका प्रदेश तथा केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुको उक्त ज्ञापनपत्र र ध्यानाकर्षण गराउने कार्यक्रममा उपस्थिति रहेको थियो ।
शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक–२०८० लाई संसद्को जारी अधिवेशनबाट ऐनको रुप दिन माग गरेको छ । त्यसैको दबाबका लागि महासंघले गत माघ २० गते देशव्यापी चरणबद्ध आन्दोलन सुरु गरेको थियो।महासंघका केन्द्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एकाइलाई बुझाउने ध्यानाकर्षण तथा जानकारीपत्रबारे शिक्षक महासंघ जिल्ला कार्यसमितिलाई निर्देशन दिनुभएको थियो । शिक्षा ऐनका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न महासंघ तथा आबद्ध÷सम्बद्ध संस्थाका पालिका, जिल्ला र प्रदेश समितिहरूलाई अनुरोध गरेको थियो।नेपाल शिक्षक महासंघको राष्ट्रिय समिति तथा विस्तारित कार्यालयीय बैठकको निर्णय अनुसार आन्दोलनका कार्यक्रम गर्न गराउन अनुरोध गरिएको हो । जसअनुसार फागुन ८ गते विद्यालयमा अभिभावक विद्यार्थी, वि.व्य.स. बिच अन्तरक्रिया गरी शिक्षक कर्मचारीका मागमुद्दा र आन्दोलनको आवश्यकता बारे सुसूचित गर्ने कार्यक्रम जिल्लाभर सम्पन्न भएको छ । फागुन ९ गते सबै ७७ जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र सोही दिन आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम अन्तरगत ध्यानाकर्षण पत्र बुझाइ जिल्ला स्तरीय आन्दोलन परिचालन समिति गठन गरिएको नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाले बताउनुभयो । फागुन १५ गते सबै प्रदेशको प्रदेश राजधानीमा मुख्यमन्त्री, सामाजिक विकासमन्त्रीसक्षम ध्यानाकर्षण पत्र बुझाई प्रदेश राजधानीमा जुलुश प्रदर्शन तथा विरोध सभा गर्ने रहेका छन् । त्यस्तै, फागुन २४ गते काठमाडौँमा बृहत् जुलुश प्रदर्शन तथा खबरदारी सभा गर्ने र फागुन २६ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक हुने महासंघले जनाएको छ । सो कार्यक्रम अनुसार फागुन ६ गते मंगलबार सिन्धुपाल्चोक जिल्लाको १२ वटै पालिकामा महासंघको स्थानीय कार्यसमितिको नेतृत्वमा कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।
महासंघसँग विगतमा नेपाल सरकारले गरेको सहमती कार्यान्वयन गर्न पनि माग गरिएको छ । शिक्षक र विद्यालय कर्मचारीका सबै मागमुद्दा सम्वोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्ने कामबाट राज्य अझै अनेक बहाना गरी भाग्ने प्रयत्नमा रहेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । देशव्यापी कार्यक्रम अन्तर्गत विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला आम शिक्षकको भावना विपरीत सरकारले निवृत्तिभरण सम्वन्धी अध्यादेश जारी गरेकोमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । बिसौ बर्षदेखी कार्यरत राहत शिक्षकको समस्या, बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलबमान, शिक्षकको ग्रेड मिलान, शिक्षकको मर्यादाक्रम, शिक्षक अस्पताल, शिक्षक सरुवा कार्यविधिको खारेजी, मासिक तलब भुक्तानी, जस्ता सामान्य काम समेत नगरिएको नेपाल शिक्षक महासंघले गुनासो व्यक्त गरेको छ । शिक्षक महासंघले वि. सं. २०७५, २०७८ र २०८० सालमा सञ्चालित आन्दोलनपछि नेपाल सरकारसँग विभिन्न महत्त्वपूर्ण सहमति भए पनि ती सहमतिहरू कार्यान्वयन गर्न सरकारले आलटाल गरेको आरोप लगाएको छ । शिक्षासम्बन्धी नयाँ ऐन ल्याउने विषयमा सरकारले पटक–पटक बहाना बनाई प्रक्रिया अघि नबढाएको महासंघको आरोप छ । महासंघले आम विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षा सरोकारवालाहरूलाई आन्दोलनप्रति ऐक्यबद्धता जनाउन आग्रह समेत गरेको छ ।
