स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो ।अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् ।
डा बुढाथोकीले भन्नुभयो, “स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ । सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अभिवृद्धि गराउने छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गर्नुभएको थियो ।
त्यसैगरी फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
