सम्पर्क

तरकारी फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ इर्खुमा तरकारी, फलफूल उत्पादन तथा बजारीकरण सम्बन्धी वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ को आर्थिक सहयोगमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत बहादुर दंगालले कृषकहरूको निम्ति साथ र सहयोग गर्न हरपल तयार रहने बताउनुभयो ।
उहाँले जनताको हितका लागि आफ्नो ज्यान दिन पनि पछि नहट्ने कुरा बताउनु भयो । विद्यालयमा दिवा खाजाको रूपमा कृषकले आफ्नै खेतबारीमा उत्पादन गरेको तरकारी तथा फलफूलहरू प्रयोगमा जोड दिने र समुदायमा रहेको बाँझो र खेतीयोग्य जमिनमा पनि तरकारी फलफूल उत्पादन गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेत्रज्योति कृषि सहकारी संस्थाले यस्तो खालका सिपमूलक साक्षरतामूलक कार्यक्रम संचालन गरेको हुँदा आयोजक संस्था नेत्र ज्योति कृषि सहकारी संस्थाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा कृषकहरूलाई तरकारी फलफूल तथा बजारीकरण कार्यक्रम संचालन गर्नका लागि चौतारा शाखा कृषि विकास बैकबाट सरल रूपमा कृषकहरूलाई कर्जा दिने कृषि विकास बैक चौतारा शाखाका प्रबन्धक सर्जना महर्जनले जानकारी दिनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अमृत बहादुर दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कृषि विकास बैक चौतारा शाखाका प्रबन्धक सर्जना महर्जनको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडाभित्रका कृषकहरुको सक्रिय उपस्थिती रहेको थियो । नेत्रज्योती कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर नेपालको सभापतित्वमा भएको कार्यक्रमको संचालन सहकारी संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो ।