सेवा प्रवाह, पारदर्शी र सुशासनको लागि जिल्ला प्रशासन कार्यालयबाट गरिने कार्यमा कुनै कमी नहुने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भएको छ ।
उहाँले शुक्रवार जिल्ला समन्वय समितिको सभा हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेको जबाफमा यस्तो बताउनु भएको हो । नागरिकता प्रमाण पत्र दिँदा पहिचान नखुलेकाको लागि पहिचानका लागी प्रहरी सर्जमिन आवश्यकता भएकोले त्यस्ताका लागी सार्वजनिकको लागि प्रहरीमा पठाउने गरिएको बताउनु भयो ।
थापाले नागरिकता राष्ट्रिय परिचयपत्र लगाएको सेवाको लागि विभिन्न स्थानीय तहमा शिविर चलाउनको लागि आवश्यक समन्वय भइराखेको, विपद् व्यवस्थापनमा निरन्तर जिल्ला प्रशासन कार्यालयले काम गरिरहेको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यलयद्धारा आयोजित उक्त कार्यक्रममा कार्यालयमा नै निःशुल्क रूपमा फारम भर्नको लागि प्रयास भइरहेको र छिट्टै नै त्यसको व्यवस्था हुने जानकारी दिनु हुँदै जिल्ला प्रशासन कार्यालयलाई बिचौलिया निषेधित गरिएको जानकारी गराउनु भयो । सार्वजनिक सुनुवाइमा उठेका प्रश्न तथा गुनासोको जवाफ दिदै सभापतिको आसनबाट बोल्दै उहाँले जनस्तरबाट उठेका प्रश्नको लागि धन्यवाद व्यक्त गर्दै यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रम नियमित रूपमा राखी सेवा प्रवाहमा जनताको गुनासो थाहा पाउने र गुनासो समाधानको लागि पहल गर्ने धारणा व्यक्त गर्नुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथिका आसनबाट आफ्नो मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण बस्नेतले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिनु हुँदै सार्वजनिक सुनुवाइले नागरिकलाई सेवा प्रवाहमा सहज हुने, सुशासन तथा शान्ति सुरक्षा, लागु औषध नियन्त्रण, विपद् व्यवस्थापन लगायत कार्यमा सेवामूलक कार्यालयहरूलाई सहज हुने बत्ताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट भएका कार्यसम्पादनको उच्च प्रशंसा गर्दै हाल सम्म सिन्धुपाल्चोक जिल्लामा सहज रूपमा सेवा तथा अन्य काम अगाडी बढिरहेको बताउनु भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश नेपालीले जिल्ला प्रशासन कार्यालयबाट भए गरेका कामहरूका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिएको नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वितरण, मुद्दा तथा विपद् व्यवस्थापनको क्रममा वितरण गरिएको राहत वितरणको हालसम्मको प्रगति प्रतिवेदनको प्रस्तुति गर्नु भएको थियो । पौष २६ गते शुक्रवार सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक जिल्लाबाट सम्पादन हुने सेवा प्रवाहका सम्बन्धमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रम जिल्ला समन्वय समितिको कार्यालयको सभा हलमा सम्पन्न भएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो सिन्धुका टिका दाहालले गर्नुभएको थियो । लोकप्रिय नेत्र ज्योतिबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । जिल्ला समन्वय समितिको उपप्रमुख पदम नेपाल, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरू, जिल्ला स्थित सरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, सञ्चार कर्मीहरू, नागरिक समाजका प्रमुख एवं प्रतिनिधिहरू लगाएको उपस्थितिमा भएको कार्यक्रमको बाह्रबिसे नगरपालिकाका शीतल मोक्तानले तातोपानी भन्सारमा जनताको पहुँचको विषयमा प्रश्न राख्नुभएको थियो । उहाँले भन्सारमा साधारण जनताको पहुँचमा सहजीकरण हुनुपर्ने, खोलाबाट बालुवा गिट्टी उत्खनन व्यवस्थित नभएकोमा गुनासो, नागरिकता लगाएको शिविर स्थानीय स्तरमा नभएकोले जनताले दुख पाउने गरेको गुनासो उहाँले राख्नुभएको थियो । यसै गरी रिना श्रेष्ठ, चौतारा सागाँचोकगढी नगरपालिका – ५ ले पासपोर्टको फारम जिल्ला प्रशासन कार्यालयले निःशुल्क रूपमा भरिदिन पर्ने र राजस्व प्रशासन कार्यालयमा नै लिने व्यवस्था नभएकोले जनताले दुख पाउने गरेको गुनासो राख्नुभएको थियो । यसै गरी कृष्ण न्यौपानेले यातायात समितिले विद्यार्थी लगायत अपाङ्ग र असक्तलाई यातायात भाडामा छुट नपाएकोमा गुनासो गर्नुभएको थियो । हाइड्रोपावर कम्पनीहरूले दिने मुआब्जा ढिलाइ हुँदा जनताले सास्ती खेपिरहेकोले सम्बन्धी निकायको ध्यान आकर्षण गर्नुभएको थियो । अर्का सहभागी कृष्ण बहादुर ठकुरीले जिल्ला स्थित कार्यालयहरूमा कर्मचारीहरू पर्याप्त नभएको कारणले सेवाग्राही मर्कामा परेको, जिल्ला अस्पतालको सेवा गुणस्तर नभएको गुनासो गर्नुभएको थियो । बजार अनुगम गरी गुणस्तरहीन सामग्री बिक्री रोक्नु पर्ने उहाँको भनाइ थियो । पत्रकार लगायतले जनस्तरबाट हुने चासो र सेवा प्रवाहमा जनताले पाएको दुखको बारेमा प्रसारण गर्नुपर्नेमा त्यस्तो नभएको गुनासो राख्नुभएको थियो । कार्यक्रममा चौताराको बिन्दा पुरीले बजारमा चलिरहेको भाडाका ट्याक्सी र मोटरसाइकलहरूको नियमन गरी भाडा दर लगायत निर्धारण गर्नुपर्नेमा हालसम्म सो कार्य नभएको गुनासो गर्नुभएको थियो । चौताराका हरिकुमार श्रेष्ठले चौतारा बसपार्कको व्यवस्थापनको लागि सम्बन्धित निकायले ध्यान दिन पर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण पूर्ण रूपमा नभएको, राजनैतिक भागबन्डाले खानेपानी समिति राम्रो काम गर्न नसकेको गुनासो राख्नुभएको थियो । राष्ट्रिय परिचयपत्र वितरण कार्यमा ढिलाइ भएकोमा जनताले दुख पाएको गुनासो गर्नुभएको थियो ।
लिसंखुपाखरका गंगा बहादुर लामा ले सेवा प्रवाहमा बिचौलियाले जनतालाई दुख दिने गरेको गुनासो राख्नुभएको थियो । लोकप्रिय समाचारका नेत्र बस्नेतले समाचार सङ्कलनको लागि विभिन्न कार्यालयका कार्यालय प्रमुखहरूलाई सम्पर्क गर्दा फोन नउठाउने समस्या भएको गुनासो गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका बिल बहादुर तामाङले जिल्ला प्रशासन कार्यालयबाट हुने गरेको नागरिकता पासपोर्ट लगायतका सेवा पारदर्शीताका साथ प्रभावकारी हुन लागेको बताउनु हुँदै समय समयमा यसरी सार्वजनिक सुनुवाइ गर्ने कार्यले सबेले कार्यालयका बारेमा जानकारी पाउने हुँदा यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनु भयो । नेकपा एमालेका रामचन्द्र बस्नेतले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर जिल्ला प्रशासन कार्यालयबाट भएको काम कार्यको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउनु भयो ।
नेकपा माओवादीका राजु शर्माले नागरिकको प्रत्यक्ष सरोकार राख्ने यस्ता कार्यलयहरुले गरेका हरेक काम कारबाहीको बारेमा सबैले जानकारी पाउनु राम्रो कार्य भएको बताउनु भयो । यसै गरी राप्रपाको सुन्तली ढुगेलले सबैको चाँसोको विषय नागरिकता भएको बताउनु भयो । सोही अवसरमा कर्मचारी मिलन केन्द्रको तर्फबाट प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, कर्मचारी मिलन केन्द्रका सचिव वसन्त बहादुर खडायत लगायतका पदाधिकारी, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थितिमा मालपोत कार्यालय सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृत खेमराज उपाध्यक्षको बिदाइ तथा फेरि भेटौला आगामी कार्यकालको हार्दिक शुभकामना भन्दै बिदाइ गरिएको थियो ।
