सम्पर्क

चौतारा साँगाचोकगढी नगरपालिकाको १७औं नगरसभा सम्पन्न

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो १७औं नगरसभा सम्पन्न गरेको छ ।
१७औ नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटा नगरले आर्थिक वर्ष २०८१/०८२ को श्रावण १ देखि पौष २५ गते सम्मको उपलब्धीहरुको संक्षिप्त विवरण सहितको नगरसभा नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा आईतबार सम्पन्न गरेको हो । नगरसभामा प्रस्तुत विवरण प्रति आफ्नो धारणा राख्दै नगरप्रमुख सापकोटाले नगरसभा हुनुभन्दा अघि कार्यापालिकाका सम्पूर्ण सदस्यहरुको एकमतका आधारमा छलफल भएकोले छोटो अवधिमै नगरसभा सौहार्द वातावरणमा सम्पन्न भएकोप्रति प्रशन्न व्यक्त गर्नुभयो । नगरसभामा नगर उपप्रमुख सीता थापाले नगरपालिकाले गरेको अर्धवार्षिक उपलब्धीहरुको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाले सुशासन तथा सार्वजनिक सेवा प्रवाह, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, लक्षित वर्ग , पशु सेवा, सूचना प्रविधि तथा संचार, उद्यम विकास, भौतिक पूर्वाधार ,खानेपानी तथा सरसफाई ,योजना तथा कार्यक्रम र कृषि विकास तर्फको प्रगति विवरण सार्वजनिक गरेको छ ।
नगरपालिकाले वित्तीय प्रगति तर्फ चालु आ.व.२०८१/८२ मा १ अर्ब ३२ करोड ४६ लाख ८६ हजार कुल बजेटमा ३१ करोड १७ लाख ६५ हजार खर्च भएको जनाएको छ । जुन कुल बजेटको २३.५३ प्रतिशत हो । यस्तै पुँजीगत तर्फ ३७ करोड ४४ लाख ८१ हजार ६ सय पचास रहेकोमा ५ करोड २१ लाख ५० हजार ५ सय ५९ रुपैँया खर्च भएको उपप्रमुख थापाले उल्लेख गर्नुभयो ।
नगरपालिकाको १४ वटै वडामा रहेको जग्गाहरुको नगर स्तरीय भू–उपयोग परिषद्बाट कृषि योग्य र गैर कृषि योग्य जग्गामा वर्गीकरण गरी गैर कृषि योग्य क्षेत्रमा रहेका जग्गाहरुलाई समेत विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको जनाएको छ । १७औं नगरसभामा १४ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थितिमा सम्पन्न भएको हो । नगरसभाको सञ्चालन सामाजिक विकास संयोजक तथा १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले गर्नुभएको थियो भने १४ नम्बर वडाअध्यक्ष उद्धव नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो ।