आगमी माघ २६ गते ‘पाँचौं लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस २०८१’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइको बेला प्रयोग भएको मार्गमा पर्ने प्रसिद्ध धार्मिकस्थल लिष्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी रेस सञ्चालन गर्ने भएको हो ।
आज (शनिबार) गणको कार्यालय चौतारामा पत्रकार भेटघाट कार्यक्रम गर्दै पाँचौं लिस्तीकोट–दुगुनागढी ट्रेल रेस सञ्चालन गर्ने बताएको छ ।
इन्द्रध्वज गणको आयोजना र भोटेकोशी गाउँपालिकाको प्रायोजनमा साहसिक खेलकुदको बिकास तथा शैनिक नागरिकको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले आगामी माघ २६ गते उक्त रेस सञ्चालन गर्ने गणका खेल संयोजक सेनानी अनिलकुमार बस्नेतले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोटेकोशी गाउपालिका–३ ड्राइपोटदेखि लिस्तिकोट हुँदै दुगुननगढीसम्म २४.५ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।
अल्ट्रा म्याराथुन २४.५ लम्बाइ रहेको दौडको लागि माघ १५ गतेसम्म सहभागीले नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ । नाम दर्ता इमेल तथा फोनबाट पनि गर्न सकिने गणका खेल संयोजक बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा खुला तर्फ पहिलो हुनेले १ लाख १० हजार दोस्रो हुनेले ७५ हजार र त्यस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथम ७० हजार, दोस्रो ५० हजार र तेस्रोले ३० हजार पाउनेछन् ।
त्यसैगरि भोटेकोशी गाउँपालिका बासीतर्फ पहिलोलाई ३० हजार,दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिने प्रत्येक खेलाडीको लागि दौड अवधिभरको लागि ५ लाख बराबरको दुर्घटना बिमाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
