दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
“आफ्नो लागि साधना अरूको लागि सेवा”, “संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ”, भन्ने मूल नाराका साथ विकाशानन्द फाउन्डेसन विश्व परिवार कतारको आयोजनामा “योग साधना“ कार्यक्रम हुने भएको छ । जीवन योग प्रयोगशाला दोहा, कतारको सहकार्यमा आगामी फेब्रुअरी २१ तारिक का दिन श्रद्धेय डा. योगी विकाशानन्द र माता कमलेश्वरी आनन्दको साथमा दोहाको प्लाजा इन होटेलमा कार्यक्रम हुने भएको हो । कार्यक्रममा डा विकासानन्द द्वारा एक दिवसीय मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य, खुसी हुने कला र तनाव व्यवस्थापन साथै व्यक्तित्व विकास र सकारात्मक जीवनशैली सम्बन्धी विशेष प्रशिक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पछिल्लो समय कतारमा रहेका थुप्रै नेपालीहरूमा देखा परेका डिप्रेसन, एन्जाईटी, अनिन्द्रा लगायतका समस्याका व्यक्तिलाई गुरु देव र गुरु आमाको सहजीकरणमा कसरी खुसी हुने, मानसिक तनावबाट कसरी मुक्त हुने लगायतमा योग साधनाले लाभ दिने विश्वास व्यक्त गर्दै कतार बासी सम्पूर्णलाई साधनामा सहभागी हुन फाउन्डेसन कतारकी संयोजक उर्मिला खत्रीले अनुरोध गर्नुभएको छ । कार्यक्रम बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म कार्यक्रम दुई चरणमा हुने सम्मेलनमा जानकारी दिनुभयो । विगत ४२ वर्ष देखी मनोक्रान्ति बाट सुरु गरिएको संस्था अहिले बिकाशानन्द फाउन्डेसनमा परिणत भएर हालसम्म ३३०० सय भन्दा बढी संस्थाको सदस्यको रूपमा रहेका छन् । पत्रकार सम्मेलनको सञ्चालन रामजी खत्रीले गर्नुभएको थियो । सम्मेलनमा गैर आवासीय नेपाली सङ्घका संस्थापक सदस्य एवम् पूर्वउपाध्यक्ष सागर नेपाल, अग्रज तथा सामाजिक व्यक्तित्व विमल सुवेदी, एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीलगायत आधा दर्जन पत्रकारको उपस्थिति रहेको थियो ।
