सम्पर्क

शुभप्रभात सहकारीको साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

पृथ्वीजंग पाण्डे /बाह्रबिसे
बाह्रबिसे नगरपालिका– ९ बाह्रबिसे बजारको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको छ । बाह्रबसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा उपप्रमुख मन्जु तामाङ विशेष अतिथि रहनुभएको थियो भने संस्थाको अध्यक्ष बिकाशकाजी श्रेष्ठको सभापतित्वमा केतु बोर्डिङको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्नेतले बाह्रबिसेको सबै वडामा सहकारीहरु मार्फत कृषिमा टेवा पुग्ने कार्यक्रम संचालन गर्ने बताउनु भयो । विशेष अतिथि मन्जु तामाङले सहकारीले विभिन्न स्थानका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएर टेवा पुर्याएकोमा धन्यवाद दिदै संस्थाको लोकप्रियता भएर बाक्लो उपस्थित भएको र सामुदायिक विद्यालयलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । स्वागत मन्तव्य उपाध्यक्ष यादव दाहालले दिनुभएको थियो शुभकामना मन्तव्य गोरखापत्र कर्मी चित्र मिजार, परामर्श समितिका संयोजक शम्भुबहादुर तिमिल्सिना ,सदस्य भुपेन्द्रबिक्रम थापा, सदस्य कृष्णबहादुर कार्की वडा नं. ६ का वडा अध्यक्ष कुल बहादुर श्रेष्ठ लगायतका अतिथिहरुले संस्थाको गतिविधिको चर्चा गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो । साधारण सभाले नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । जसमा अध्यक्षमा दिल्लीप्रसाद तिमल्सिना, उपाध्यक्षमा यादव दाहाल, सचिवमा रमेशप्रसाद तिमल्सिना, सह–सचिवमा बिष्णु प्रसाद पौडेल, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सुनकुमार राउत, रामबहादुर श्रेष्ठ, बिभोर श्रेष्ठ, रामकृष्ण भण्डारी, स्वस्थानी थापा, रोशनी श्रेष्ठ, नारायण बहादुर राय, रामबहादुर थापा छनौट भएका छन् । त्यस्तै गरि लेखा समितिमा नमराज थापा संयोजक र सदस्यहरुमा राजकुमार शाक्य, नानु श्रेष्ठ चयन भएका छन् । संचालक समिति र लेखा समिति दुवै सर्वसहमत छनौट गरिएको संस्थाको ब्यवस्थापक सुरेन्द्र तिवारीले बताउनुभयो । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गापा, बलेफी गापा, सुनकोशी गापा लगायत कार्यक्षेत्र रहेको सो सहकारीमामहिला ३११३जना तथा पुरुष ३२१३ संस्थागत ३१ गरि ६३५७ जना सदस्य, ४९० जना बाल बचतकर्ता रहेको जानकारी संस्थाको सचिब दिपकबिक्रम थापाले दिनुभयो । संस्थाले बचत अन्तर्गत नियमित बचत, ऐच्छिक बचत, शेयर बचत, बिशेष बचत, बाल बचत, कोपिला बचत, जेष्ठ नागरिक बचत, कर्मचारी बचत, रेमिट बचत, क्रमिक बचत, आवधिक बचत जस्ता योजना सञ्चालन गरिरहेको छ भने ऋणतर्फ घरजग्गा धितो ऋण, हायर पर्चेच ऋण, ब्यवसाय ऋण, ब्यक्तिगत धन जमानी ऋण, सामूहिक जमानी ऋण, प्रोप्रेसनल ऋण, कृषि तथा पशुपालन ऋण, स्पेसल घर कर्जा, घरजग्गा खरिद ऋण, आपतकालीन ऋण, स्वास्थ्य उपचार ऋण, शैक्षिक ऋण, महिला उद्यमी ऋण, बैदेशिक रोजगार ऋण, शुभ ब्यवसायी ऋण, कर्मचारी सहुलियत ऋण र आवधिक बचत धितो ऋण रहेको छ ।संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिकास पौडेलले पेश गर्नुभएको थियो उहाँको अनुसार ४ करोड २४ लाख ९८ हजार चार सय शेयर पुजीँ, ३ करोड ८५ लाख ७० हजार १८७ रुपियाँ जगेडा कोष, १ करोड २६ लाख २४ हजार २९५ रुपियाँ, अन्य कोष, ५५ करोड ९९ लाख ८९ हजार ८५०, दुई करोड ७० हजार ५५६ रुपियाँ स्थिर सम्पत्ति, ३३ करोड १३ लाख २७ हजार १०७ रुपियाँ ऋण लगानी, ७ करोड ४९ लाख ५० हजार ८८० रुपियाँ ४५ पैसा कूल सम्पत्ति, १ करोड १५ लाख ३३ हजार, ११५ रुपियाँ ३४ पैसा खुदनाफा, ६८ करोड ७३ हजार ४४ हजार २९४ रुपियाँ कुल सम्पत्ति तथा दायित्व रहेको छ ।
उक्त सहकारीले सदस्य र बाल बचतकर्तालाई एक लाख बराबरको निशुल्क दुर्घटना बीमा, मृगौला फेल, ब्रेन टयुमर, प्यारालाइसिस, क्यान्सर, मुटु रोग जस्ता प्राणघातक रोगको उपचारको लागि १० हजार उपचार सहयोग गर्दै आएको, सदस्य तथा सदस्यको एकाघरको परिवारका सदस्यको स्वास्थ्य उपचारका लागि ३ महिना अवधिको लागि शून्य ब्याजदरमा ५० हजारसम्म ऋण सापटी प्रदान गर्दैआईरहेको व्यवस्थापक सुरेन्द्र तिवारीले बताउनुभयो ।
सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ सदस्य सम्मान, रक्तदान कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, प्रतिक्षालय निर्माण तथा विद्यालयहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । कक्षा ११–१२ मा अध्ययनरत शारदा माबी बाह्रबिसे, भद्रकाली माबी बाह्रबिसे, सुनकोसी माबी बाह्रबिसे, क्षेमादेबी माबी बार्हबिसे,महेन्द्रप्रताप माबी त्रिपुरासुन्दरी र राम माबि त्रिपुरासुन्दरीका न्यून आय भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।