स्थानीय सरकारले आफ्नो जिल्लामा रहेका सञ्चार माध्यमहरूमा विज्ञापन नदिई कुनै पनि बहानामा बाहिरी जिल्ला सञ्चार माध्यमहरूमा सूचना तथा विज्ञापन दिन नपाइने त्यसरी दिँदा उजुरी परेमा कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताउनु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको पत्रकार महासघंको सभा हलमा भएको सिन्धुपाल्चोक जिल्लाका पत्रकार तथा सञ्चार गृहहरूलाई विज्ञापन बोर्डका बारेमा जानकारी दिँदै यस्तो बताउनु भएको हो । सूचना तथा प्रसारण विभागले गरेको पत्रकारहरूको क्षमता अभिवृद्धि तथा परिचयपत्र वितरण तथा नवीकरण घुम्ती शिविरमा सहभागीहरूलाई विज्ञापन बोर्डको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै पत्र पत्रिका मार्फत दिइने विज्ञापन नियमन नहुँदा बिचैलीयाबाट ठुलो घोटाला हुँने हुँदा यो घोटाला रोक्नका लागी विज्ञापन बोर्डले काम गरिरहेको बताउनु भयो ।
सञ्चार माध्यमले जारी गरेको विलको आधारमा सरकारी निकायले विज्ञापनको रकम भुक्तानी गर्नुपर्ने, एजेन्सी मार्फत विज्ञापन प्रकाशन तथा प्रसारण भएको अवस्थामा सञ्चार माध्यमको विलको प्रतिलिपिसहित एजेन्सीको सेवा शुल्क खुल्ने गरी जारी गरेको विलको आधारमा भुक्तानी गर्नुपर्ने, भुक्तानी गर्दा बोर्डमा पेस गरेको दररेटको आधारमा मात्र गर्न पाउने बताउँदै उहाँले नेपाल सरकारको विज्ञापन नीति विज्ञापनको बोर्डको नियमभन्दा कोही पनि माथि नहुने भएकाले विज्ञापन बोर्डको नीतिमा रहेर काम गर्न सबैलाई अनुरोध गर्नुभयो ।
अध्यक्ष हुमागाईँले विज्ञापन बोर्डले आफ्नो वइभसाइडमा सो सम्बन्धी जानकारी तथा विज्ञापन दररेट नीति सबै राखेको भन्नुहुँदै सबै काममा पारदर्शिता हुन पर्ने बताउनु भयो । सो अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवन कुमार श्रेष्ठले विज्ञापन बोर्डको नीति तथा कार्यक्रमका बारेमा जानकारी पाउँदा आफूहरूलाई खुसी लागेको र स्थानीय सरकारले जिल्लाबाट सञ्चालित सञ्चार गृहहरूलाई विज्ञापन नदिएर अन्यलाई दिँदा कारबाही भोग्न पर्ने भएकाले जिल्लाबाटै सञ्चालित सञ्चार गृहहरूलाई विज्ञापन दिने व्यवस्था भएपछि जिल्लाका सञ्चार गृहहरूलाई ठुलो राहत पुगेको बताउनु भयो ।
आइतबार सोमबार र मङलबार गरी तिन दिनसम्म चल्ने शिविरमा सोमबार मात्रै १० वटा नयाँ परिचय पत्र बनेको छ भने ४ वटा नवीकरण भएको र ३ वटा अनलाइन सञ्चार गृहको नवीकरण भएको विभागका निर्देशक भरत गौतमले जानकारी दिनुभयो ।
