सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कुनेगाउँका पहिरो पीडित दलित समुदायका १५ घरधुरीलाई ब्ल्याँकेट र २२ जना बालबालिकालाई ज्याकेट बितरण गरिएको छ ।
फ््युचर अफ होप नामक संस्थाको सहयोगमा अभियान्ता चित्रकुमार मिजार र निरोज तोलांगेको पहलमा कातिक १४ गते उक्त स्थानका पहिरो पीडितहरुलाई सिरक र ज्याकेट बितरण गरिएको हो । उनीहरु बस्दै आएको कुनेगाउँमै पुगेर फ््युचर अफ होप संस्थाकी संस्थापक अध्यक्ष अनिला थापा, बिपद् व्यवस्थापन निर्देशक कवि थापा, अभियान्ताद्धय चित्र मिजार, निरोज तोलांगेले सो सामाग्री बितरण गरेका हुन् ।
साथै मिजार र तोलांगेको पहलमा चेन्ज फर होप नेपाल र प्रशंसा सामाजिक सेवा नामक संस्थाबाट केही साताअघि सोही बिस्थापित बस्तीका १२ घरधुरीलाई दाल,चामाल,तेल,नुन,चिउरा लगायतका खाद्यन्न बितरण गरिएको थियो ।
असोज ११ र १२ गतेको अविरल बर्षातका कारण कुनेगाउँको ३ घर पहिरोले बगाएको थियो । साथै त्यसघरमा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । सो घरमा रहेका ४५ बर्षीया चित्रबहादुर मिजार, उहाँकी ४५ बर्षीया धर्मपत्नी ठूलीकान्छी मिजार र पहुना लाग्न आएका जुगल गापा–४ का अविनाश नेपाली र उनका ५ बर्षीय छोरालाई घरसहित पहिरोले बेपत्ता बनाएको थियो । सुरक्षाकर्मीको खोजतलासपछि चित्रबहादुर र बालकको शव फेला परेको थियो । ठूलीकान्छी र अविनाश अझै उक्त पहिरोमा बेपत्ता अवस्थामा छन् ।
उक्त पहिरोमा परेर १२ घरधुरी दलित समुदाय बिस्थापित अवस्थामा छन् । पहिरोले १२ घरको जग, जमीन, जग्गा, आँगनसम्म चिराचिरा परेका अवस्था छ । स्थानीय पीडित चन्द्र बिसुंखेका अनुसार अन्य स्थानमा आफ्नो सुरक्षित जग्गा जमीन नभएकाले १२ घरधुरी नै जोखिमयुक्त सोही बस्तीमा टिनले छाएको टहरामा बस्दै आएका छन् । सामान्य बर्षातले पनि उक्त बस्ती अति जोखिममा पर्ने निश्च्यित छ ।