सम्पर्क

मालिकादेवी कप ः पहिलो दिन ४ खेल सम्पन्न

चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ’ए’ साइड फुटबल फुटबल प्रतियोगिता सोमबारबाट सुरु भएको छ । पहिलो दिन ४ खेल सम्पन्न भएको हो ।
उद्घाटन खेलमा भिमटार बोइजलाई सुकुटे युवा जागरण मञ्चले ३–१ गोलले पराजित गरेको छ । सुकुटेको जितमा आर्यन काजी थापाले २, दिपेश बस्नेताले एक गोल थपे भने, भिमटारका लागि किरण माझीले गरेको गोल सान्त्वना बन्यो । यस खेलमा सुकुटेका आर्यन ’म्यान अफ द म्याच’ घोषित भए । यस्तै, दोस्रो खेलमा सिंहमती युवा क्लबले जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकलाई सडन डेथमा ४–३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेलमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।
पेनाल्टीमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। जसमा सिहंमतिले बाजी मार्यो। यस खेलमा सिंहमतीका रोशन थापा’म्यान अफ द म्याच’ घोषित भए । तेस्रो खेलमा साँगाचोक युथ क्लबले सिर्जनशिल युवा समाजलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । साँगाचोकको जितमा सागर रामुदामुले ह्याट्रिक पूरा गर्दा आयुष तामाङले दुई गोल गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । यस खेलको ’म्यान अफ द म्याच’ सागर घोषित भए । यस्तै, दिनको अन्तिम तथा चौथो खेलमा वडा नम्बर–६ लाई वारियर्स एफसीले पेनाल्टी सुटआउटमा ४–५ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित ४० मिनेटको समयमा दुबै टोलीबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो । जसमा वारियर्स एफसीले बाजी मार्यो। यस खेलको ’म्यान अफ द म्याच’ वारियर्स एफसीका सुजन माझी घोषित भए ।
प्रतियोगिताको उद्घाटन समारोहमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा प्रमुख अतिथि, उप–प्रमुख सिता थापा, वडा नम्बर आठका वडा अध्यक्ष अमृत बहादुर दंगाल, वडा नम्बर साताका वडा अध्यक्ष डम्बर बहादुर तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेका थियो ।

 

मेलचौर युवा जागरण समाजको आयोजनामा सोमबाट सुरु भएको यस प्रतियोगिता कार्तिक १० गतेसम्म चल्नेछ ।
आयोजकका अनुसार  प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ । हरेक खेलको प्रत्यक्ष प्रसारण नेप्लेज डटकमको फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।