सम्पर्क

त्रिपुरासुन्दरीमा पहिलोपटक बजार अनुगमन

पृथ्वीजंग पाण्डे / पिस्कर
त्रिपुरासुन्दरी गाउँपालिकामा बजार अनुगमन टोलिद्वारा गाउँपालिकाको विभिन्न वडामा सोमबारदेखि अनुगमन सुरु गरिएको छ । वडा नं. ४ पिस्कर, वडा नं. ३ धुस्कुन तथा वडा नं. २ चोकटीमा भएका किराना पसल तथा होटलको अनुगमन गरि आवश्यक सल्लाह सुझाव दिएको हो । म्याद नाघेका र अखाद्य सामग्री बढि बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई सुरु गरिएको पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो ।
अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई सात दिनभित्र दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं पसल तथा होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर र साइनवोर्ड लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएको अखाद्यय वस्तु ,विभिन्न ब्राण्डका चकलेट, चाउचाउ ,भुजिया, आटाको पिठो,दालमोठ,बेकरी आइटम, कोक, फेन्टा ,बियर, मस्यौरा, डिउ, जुस, कुरकुरे, लभ क्यान्डी, मन्जन,चामल, गरम मसला, चिया पत्ति, थुक्पा, विस्कुट आदि रहेका छन् ।
अनुगमनमा पालिका अध्यक्ष भक्तध्वज बोहरा संयोजकत्वमा, उपाध्यक्ष गिताकुमारी नेपाल, वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजु, वडा नं. २ का वडा अध्यक्ष रमेश राउत प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका प्रतिनिधि प्रकाश पौडेल, उद्यम बिकास शाखा प्रमुख ओम तामाङ, रोजगार संयोजक बिज्ञान बोहरा, प्रहरी चौकी पिस्करका प्रहरीहरु तथा सञ्चारकर्मी लगायतको टोलीले व्यवसायीलाई सचेत गराएका छन् । पालिकाले उपभोक्ताको स्वास्थ्यमा अहित हुने वस्तु साथै चाडवाडमा कालोबजारी हुुनसक्ने कुरालाई मध्यनजर गरि बजारमा अखाध्य र म्याद गुज्रिएका सामग्री पाइने भएकाले बजार अनुगमन सुरु गरिएको हो ।

पहिलो पटकमा व्यापारीहरुलाई सुधारको लागि अनुरोध गरिएको र दोस्रो पटक पनि सोही प्रकारको गल्ति दोहो¥याएमा कानुनअनुसार कारवाही गरिने त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवाले जानकारी दिनुभयो ।
चाडपर्वको मौसममा विषेशगरी बढी मुल्य लिने, अखाद्य बस्तु विक्री वितरण गर्ने जस्ता कार्य हुने गरेकाले बजार अनुगमनलाई तिव्रता दिइएको त्रिपुरासुन्दरी वडा नं. ४ का वडा अध्यक्ष टेकबहादुर गुभाजुले जानकारी दिनुभयो ।
म्याद नाघेका र अखाद्य सामग्री बढी बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई शुरु गरिएको हो । टोलीले व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न तथा उपभोग्य मिति र लेबल हेरेर मात्र खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

दशै अगाडि नै पुन अर्कोपटक अनुगमन गरिने र सो क्रममा पुन अखाद्य बस्तु र म्याद गुज्रिएको सामान भेटिए नष्ट गरिने पालिकाको योजना रहेको छ । यो बर्ष त्रिपुरासुन्दरी गाउँपालिकामा अखाद्य खानेकुराको कारण २३ जनालाई क्यान्सर रोग लागेर पीडित बनेर पालिका कार्यलय बाट उपचारका लागि सिफारिस भएका छन।पालिकाले पहिलोपटक बजार अनुगमन गरेर सुझाव दिएकोमा स्थानीयले समेत उल्लेखनीय कार्य भनेर तारिफ समेत गरेका छन् ।