लोपोन्मुख नेपाली परम्परागत सीप र संस्कृतिको संरक्षणमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित रहेको गोल्मादेवी माध्यमिक विद्यालयले चासो दिन थालेका छन् । विद्यालयले पढाइसँगै परम्परागत सीप तथा दुना–टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयका छात्र छात्राहरुलाई हरेक शुक्रबार तालिम दिइएको विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित हामीले छात्राहरुलाई दुना, टपरी बनाउने जीवन उपयोगी परम्परागत सीप प्रदान गरेका हौं । यो व्यवहारिक ज्ञान दिने माध्यम मात्र हैन र नेपाल र नेपाली चिन्ने र चिनाउने कडी पनि विद्यार्थीलाई सिकाएका हौँ । किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञानबाट विद्यार्थीले धेरै सिक्ने र सजिलैसँग सिक्ने भएकोले सामाजिक विषयसँग सम्बन्धित भएकोले प्रत्येक साताको एक दिन हामीले विद्यार्थीलाई नयाँ व्यावहारिक ज्ञान दिने गरी सीप सिकाउँछौं ।’
विद्यार्थीहरूले ती सीपहरू रुची पूर्वक सिकिरहेका छन् । पुराना सिप नयाँ पुस्तालाई सिकाउन र संरक्षण गर्न विद्यार्थी सहयोगी हुने भएकाले यस्तो ज्ञान दिन थालिएको विद्यालयले जनाएको छ ।
पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवा पुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि छैन ।
