सिन्धुपाल्चोक जिल्लामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’ लागू गरिने भएको छ ।
चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले नयाँ रणनीतिका साथ सुरक्षा योजना बनाएको छ । सोमबार प्रहरीले पत्रकार सम्मेलन गर्दै ६ बुँदामा सुरक्षा योजना सार्वजनिक गरेको हो ।
दसैं तथा तिहारलगायतका पर्वमा हुनसक्ने लुटपाट लगायत सम्भावित घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले यस्तो योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार चाडपर्वमा लुटपाटका घटना हुन नदिन सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । लुटपाट हुनसक्ने स्थानमा महिला प्रहरीलाई सादा पोशाकमा खटाउने योजना सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । कार्यालयले यो वर्ष महिला प्रहरीलाई गरगहना लगाएर चोक तथा लुटपाट हुनसक्ने एकान्त स्थानमा खटाउने छ ।
लुटपाट गर्न आउनेहरुले सादा पोशाकका गहना लगाएका महिला प्रहरीमाथि नजर लगाएपछि अन्य प्रहरीले उनीहरुलाई पक्राउ गर्ने रणनीति सिन्धुपाल्चोक प्रहरीले बनाएको छ । एसपी खड्काले यो रणनीतिले लुटपाटका घटनामा निकै कमी आउने विश्वास व्यक्त गर्नुभयो । बजार एसिया तथा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने सबै नाकाहरुमा २४ सै घण्टा जाँच गर्ने योजना पनि प्रहरीले बनाएको छ । त्यस्तै ठाउँठाउँमा मादक पदार्थ सेवन र लागु पदार्थ सवन जाँच, जिल्लाका पाँच स्थानमा रिफ्रेस सेन्टर बनाइएको एसपी खड्काले बताउनुभयो । सवारी साधनको प्रतिष्पर्धा अन्त्य गर्ने उद्धेश्यले मेलम्ची, बाह्रविसे, ठूलोपाखर, बनदेउ र चौतारामा रिफ्रेस सेन्टर बनाइएको हो । त्यस्तै आर्थिक चहलपहल बढी हुने वैंक तथा वित्तिय संस्थाहरु रहेको स्थानमा पनि प्रहरीको विशेष निगरानी हुनेछ । सुनचाँदीका गरगहना लगायत अन्य बहुमुल्य सामानहरुको कारोबार हुने स्थानहरुमा निगरानी बढाइने प्रहरीको भनाइ छ । गाउँमा विदेशबाट सन्तानले चाडपर्व मान्न पठाएको पैसाको बारेमा अरुलाई जानकारी दिदा समेत चाडपर्वमा चोरी डकैती बढेको बताउदै प्रहरी प्रमुख खड्काले अरु सँग यस्ता कुरा नगर्न सुझाव दिनुभयो ।
