सम्पर्क

बेपत्ता महिलाको हत्या, एक जना पक्राउ

केही दिनदेखी बेपत्ता भएको सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ बर्षिय धनमाया श्रेष्ठको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्या आरोपमा प्रहरीले गुल्मी कालीगण्डकी गाउँपालिका–४ घर भई बलेफी गाउँपालिका–१ मा रहेको तल्लो बलेफी हाइड्रोपावरमा मजदुरीको काम गर्ने ३७ वर्षीय रनबहादुर गाहालाई पक्राउ गरेको हो ।
गत भदौ २६ गते उनी बेपत्ता रहेको भन्दै इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा मौखिक उजुरी आएको थियो । भदौ २७ गते मृतक धनमायाकी छोरीले निवेदन समेत दर्ता गराएकी थिइन् ।
प्रहरीले खोजतलास गर्दै जाने क्रममा घरदेखि उत्तरतर्फ गोरेटो बाटोदेखि ब्रम्हायणी खोलाको डिलसम्म चुडिएको अवस्थामा धागोसहित पोतेका दानाहरू ठाउँठाउँमा फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।
घटना शंकास्पद देखिएपछि नजिकै काम गर्ने रनबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । घटनास्थलमा तालिम प्राप्त कुकुर पनि खटाइएको थियो । अनुशन्धानकै क्रममा महिला ब्रम्हायणी र सुनकोशी नदीमा खसेको हुनसक्ने आशंकामा खोजी गरिएको थियो ।
भदौ २६ गते अपराह्न ४ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका–२ सादीपाखोमा एकजना महिलाको शव भेटेको जानकारी प्राप्त भएको थियो । अनुसन्धानका क्रममा सो शव धनमाया श्रेष्ठको भएको पहिचान खुलेको हो । शव आइतबारमात्रै मृतकका परिवारले सनाखत गरेका थिए । शवको पोष्टमर्टमको लागि प्रहरीले काठमाडौंस्थित टिचिङ अस्पतालमा पठाएको छ ।
अनुसन्धान र सोधपुछकै बीचमा प्रहरीको नियन्त्रणमा रहेका रनबहादुरले घटनाबारे खुलाएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौ २५ गते बेलुकी धनमायाको घरमा मृतक, रनबहादुर र मृतकका जेठो छोरा कमलदास मदिरा सेवन गरेर बसेका थिए । मदिरा अपुग भएपछि रनबहादुर थप मदिरा लिन गएका थिए । उनी फर्किँदासम्म छोरा आफ्नो घर फर्किएको र त्यसैबीच मृतक धनमायासँग विवाद भएको प्रहरीसँग बयानमा भनेका छन् । धनमाया घर बाहिर निस्किएपछि तान्दै गर्दा घाँटीमा लगाएको माला, पोते चुँडिएको र लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा भेटेपछि उनलाई मदिराको तालमा खोलामा घचेडी दिएँको प्रहरी समक्ष बयान दिएका हुन् । रनबहादुरको यो अभिव्यक्तिपछि प्रहरीले उनको हत्या भएको पुष्टि गरेको छ ।