लोकनारायण सुबेदी
बिश्वभभरी नै यतिबेलाको समय साम्प्रदायिक राष्ट्रबादको एक किसिमको राजनीतिक क्रमबाट गुज्रिरहेको देखिन्छ । आन्दोलनका नतिजाले होस् या निर्वाचनको नतिजा जताबाट हेरिए पनि यही दृष्य परिदृष्य देखापर्दै आएकोछ । यता हाम्रो एशिया महादेश र त्यसमा पनि खाशगरी दक्षिण एशिया नराम्रोसँग यस्तै साम्प्रदायिक राष्ट्रबादको दुष्चक्रमा फँस्दै फसाइदै गरेको बिश्लेषण बिश्वका राजनीतिक, सामरिक र अर्थ–सामाजिक बिश्लेषहरुले गर्दै रहेको पाइन्छ ।
यस क्रममा पुरै दक्षिण एशिया साम्प्रदायिक राष्ट्रबादको चपेटाबाट गुज्रदै आएको र गुज्रदै रहेको प्रष्टै देखिन्छ भन्ने उनीहरुको निचोड छ । अहिले केही पहिलेको कुरा गर्ने हो भने श्रीलंका एक बर्ष पहिलासम्म त्यस्तै साम्प्रदायिताको पकडमा परेर गुज्रेको अनुभव हुन्थ्यो । त्यसैगरी पाकिस्तान पनि अल्पसंख्यकहरुका अधिकारहरु हनन गर्ने देशहरुमध्ये दक्षिण एशियामा एक चर्चित देश नै हो । त्यसरीनै म्यानमार पनि यही बाटोमा चलिरहेको अध्येताहरुले औंल्याउँदै आएका छन् । भारतीय बर्तमान सत्ता पनि हिन्दू साम्प्रदायिकतालाई बढावा दिने र बाँकी अरुअरुलाई थिचोमिचो गर्ने दिशामा नै अग्रसर देखिदै आएको छ । नेपालमा पनि यस्तै किसिमका कुरा निर्देशित या अञ्जानमा उरालेर जनता बीचको आधारभूत एकतालाई खल्बल्याउने र नेपालीको राष्ट्रिय स्वाधीनता र एकतालाई अझ कमजोर तुल्याउने प्रपञ्च परोक्ष प्रत्यक्षरुपमा चलाइदै गरेको प्रतीत हन्छ । हुन पनि प्राय सत्ताधीशहरु र तिनीहरुद्वारा पालित पोषित अनुचरहरु बेला कुबेला तरबार निकाल्ने कुरा गर्ने गर्दछन र अन्यपति घृणा र द्वेष पैदा गर्ने सन्देशहरु फैलाउने कुराको आदान–प्रदान गर्ने अभियान पनि चलाउँदछन् तिनको त केही बिग्रने गर्दैन ।त्यस्ता गतिबिधिहरु गर्नेहरुका बिरुद्ध या तिनमाथि साम्प्रदायिक घृणा फैलाउने र समाजमा बिभाजकारी प्रबृत्तिलाई प्रोत्साहन दिने आरोप लगाउने र कारबाही गर्ने कुनै ठोस र प्रभावकारी कानुन बनेको पनि पनि पाइदैन या बनिहालेका भए पनि तिनलाई ब्यवहारमा खरो उतार्ने गरिदैन बरु निष्कृय तुल्याएर राखिने गरिन्छ ।
अहिले भर्खरकै घटना क्रमहरुलाई हेर्ने हो भने पनि जनताको एउटा आक्रोशको ज्वारले बंगलादेशलाई नराम्रोसँग हल्लाएर छोडिदिएको छ । त्यहाँ अहिले जे जे भइरहेको छ त्यसबार कयौं झूटा समाचहरु पनि फैलाइदै गरेको पनि देखिन्छ । त्यसको दुष्परिणामले भारतमा पनि इस्लामोफोबिया(इस्लामलाई निन्दा गर्ने भावना)ले निकै जोड फक्रेको औंल्याइदैछ । बंगलादेशमा शेख हसिनाले बितेको ६ बर्षयता जे जे गर्दै आइन् त्यसमा उनले कठोर र कडाईकासाथ शासन सत्ता हाकेको सबैले देखेबुझेकै कुरा हो ।उनले बिपक्षमाथि निकै कठोर दमचक्र चलाइन् । केसम्म गरिन् भने प्राय सबै बिपक्षी नेताहरलाई या त जेलमा कोचिन या तिनलाई आफ्नै घर घरमा नजरबन्दमा राखिन्।
बास्तबमा बंगलादेशको यो पछिल्लो बिद्यार्थी आन्दोलन बंगलादेशका स्वतन्त्र सेनानीहरुका सन्तानहरुलाई आरक्षणको बिषयलाई लिएर भड्केको थियो । त्यो आरक्षण ५० बर्षभन्दा बढी समयदेखि पाकिस्तानका खाँपरिवारको शोषण र दमनकारी शासन सत्ताबाट बंगलादेश(तत्कालीन पूर्बी पाकिस्तान) भिन्न भए पछिदेखिनै यो मुद्दा निरन्तर चल्दै आएको थियो । यसलाई अझै लम्ब्याउने कुरामा बंगलादेशका यूवा बर्गमा असन्तोष र आक्रोश बढ्दै गएको थियो र यूवा बिद्यार्थीहरु आन्दोलित थिए । त्यस आन्दोलनलाई शेख हशिना बेगमले पनि निकै कडाईकासाथ दमन गरेरै तह लाउन खोजिन् । तर यूवा बिद्यार्थीहरु पछि हटेनन् ।आन्दोलनले अझ सशक्त र ठूलो रुप लिदैं गयो । अन्ततः हशिनाले देश छोड्न बाध्य हुनुप¥यो ।
त्यसपछि त्यहाँ झन अराजकता फैलियो । हशिनाको पार्टी आबामी लीगका समर्थहरुमाथि जताततै हमला शुरु भयो । तिनको कार्यालयमा आगो लगाउन थालियो । हिन्दू, बौद्धमार्गी, ईसाई यूनिटी काउन्सिल तथा ‘बंगलादेश पूजा उद्यापन परिषद’ का अन्ुुुसार अगष्ट ६ का दिन हशिना सरकारको पत्तन पछियता बंगलादेशका ६ वटा जिल्लामा अल्पसंख्यक समुदायमाथि हमलाका २०५ घटनाहरु भएको बताइन्छ । यस स्थितिमा तत्काल अन्तरिम सरकारको नेतृत्व गर्नका लागि बिद्यार्थी र बंगलादेशमा लघु बित्तका प्रबर्तक नोबल पुरस्कार बिजेता प्रो युनुसलाई चुनियो । बंगलादेशका अल्पसंख्यकहरुले सुरक्षाको माग गर्दै एउटा ठूलो र्याली पनि निकाले । प्रो युनुसले तत्कालै एउटा अपिल जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुसँग हिन्दू, ईसाई र बौद्धमार्गीहरु समेत सबै अल्प संख्यक समुदायमाथि भइरहेको हमलाबाट उनीहरुलाई सुरक्षा प्रदान गर्न भने र ‘के यो उनीहरुको पनि देश होइन ?’तपाईहरुले आफ्नो देशको रक्षा गर्नु भएको छ भने केही परिबारको रक्षा गर्न सक्नुहुन्न र ? भन्ने जसता प्रश्न आन्दोलनरत बिद्यार्थीहरुमाथि खडा गरे ।
त्यो अपिल निकै प्रभावकारी पनि साबित भयो । बंगलादेशको ‘द डेली स्टार’ पत्रिकाका सम्पादक महफूज अनामका अनुसार त्यसपछि हिन्दूहरुमाथि भइरहेको हिंसा रोकियो । यतिसम्म कि दक्षिणपन्थी पार्टी जमात–ए–इस्लामीले समेत मन्दिरको रक्षा गर्नका लागि एउटा दस्ता नै गठन गर्यो । ‘द वायर’मा करण थापरले दिएको अन्तरबार्तामा पनि त्यसका सम्पादकले कुन कुरातर्फ ध्यान आकर्षित गराए भने भारत र बंगालादेशका दक्षिणपन्थीहरुलाई एक अर्काबाट शक्ति प्राप्त हुने गर्दछ । उनका अनुसार त्यसको पाँच दिनपछि अल्पसंख्यकका बिरुद्ध भइरहेका हिंसा पूर्णरुपले नै रोकियो ।उनी र अन्य कतिपय यूट्यूूबरहरुका अनुसार भारतमा तथ्यहरुलाई पुष्टी नगरिकन अत्यन्तै धेरै हल्ला र झूटा(फेक) समाचाहरु फैलाउने गरिन्छ ।
त्यसको एउटा ठूलो उदाहरण क्रिकेट खेलाडी लिपन दासको घरमा आगो लगाइएको खबर र भिडियोलाई दिइन्छ । बीबीसी फ्याक्ट चेकबाट के पत्तो लाग्यो भने त्यो घर अर्कै कुने क्रिकेट खेलाडीको थियो । जो आवामी लीग पार्टी निकट रहेका थिए र दुई कार्य कालका लागि बंगलादेशको सांसद पनि रहिसकेका थिए ।
यस्तै प्रकारको अर्को भिडियोमा पनि दाबी गरिएको थियो कि त्यहाँ चटगावमा एउटा मन्दिर छ त्यसलाई जलाईयो भनेर । तर तर फ्याक्ट चेक गर्दा के पत्ता लाग्यो भने त्यो त्यो जल्दै गरेको भवन आवामी लीगको कार्यालय हो, मन्दिर होइन । त्यो मन्दिर कार्यालय नजिक रहेको छ । यस्ता प्रकारका धेरैजसो भिडियोहरु जसमा हिन्दू मन्दिरहरु जल्दै गरेको र हिन्दूहरुको हत्या गर्दै गरेको दाबी गरिन्थ्यो र देखाइन्थ्यो । अनि केही यस्ता भिडियोहरु पनि जसलाई छन् पछि दबाइयो या लुकाइयो, त्यसमा बिद्यार्थीहरुले मन्दिरहरुको रक्षाका लागि बनाएका दस्ताहरु देखाइएको छ । ‘हिन्दू र मुस्लिम दुबै पीडित छन्’ । तर ती मानिसहरुले राजनीतिबाट प्रेरित छानिएका कतिपय घटनाहरुलाई साम्प्रदायिक बताउने गर्दछन् । जतिबेला हिंसाबाट पीडित हुने ब्यक्ति हिन्दू हुन्छ त्यतिबेला त्यसलाई धर्म आधारित प्रताडना बताएर जोडतोडले प्रचारित गरिन्छ जसले गर्दा भारतमा मुसलमानहरुप्रति घृणा बढ्छ । यो कुरा एकजना ‘ फ्याक्ट चेकर शोहानुर रहमानले’ ‘द क्वीण्ट’लाई बताएका हुन् ।
सर्सरी हेर्दा यतिबेला बंगलादेशमा सत्ताका दुइटा केन्द्र देखिन्छन् – प्रोफेसर युनुस र आन्दोलनको नेतृत्व गर्ने बिद्यार्थीहरु । ती दुबैले बंगलादेशलाई समावेशी चरित्रको बनाउने कुराको समर्थन गर्छन् भनिदैछ । अनि हिन्दू सहीत सबै अल्प संख्यकहरुको रक्षाकाप्रति दृढ संकल्पित रहेको पनि बताइदैछ । यद्यपि त्यहाँ जमात–ए–इस्लामी एउटा इस्लामिक राष्ट्रको सपना देख्ने पाटी पनि छ । बीएनपीकी नेतृ खालिदा जिया पनि दक्षिणपन्थी र इस्लामिक राष्ट्रको समर्थक मानिन्छिन् । तर बहुमत बंगलादेशीहरुको समर्थन भने युनुस र बिद्यार्थी नेताहरुप्रति नै रहेको पनि बताइदैछ । प्रोफेसर युनुसले बहुलबादकाप्रति आफ्नो प्रतिबद्धता देखाउँदै १३ अगष्टका दिन ढाकेश्वरी मन्दिरको भ्रमण पनि गरे । त्यहाँ उनले हिन्दूहरुका नेताहरुसँग पनि भेटघाट गरे । उनीहरुका दुःख दर्दहरु पनि सुने र तिनको सुरक्षाका लागि आश्वासन पनि दिए । भारतका एकथरी बिश्लेषकहरु यसलाई अत्यन्तै सकारात्मक र सन्तोषप्रद कुरा पनि मानिरहेका छन् ।
यद्यपि यसै बेला भारतमा घृणा फैलाउनेहरु र कथित हिन्दू राष्ट्रबादका समर्थकहरु ठूलो घृणा र होहल्ला मच्चाएर भड्काउपूर्ण सन्देहरु पठाउन जुटेको भारतीय बस्तुबादी बिश्लेषकहरुले बताइरहेका छन् । उदाहरणस्वरुप उनीहरु भन्छन्– भारतीय जनता पार्टीका सांसद कंगना रनौतले ट्वीट गरेकी छन् कि – ‘शान्ति वायु या सूर्यको किरण होइन जसलाई कसैले पनि जन्मसिद्ध अधिकार मान्दछ र आफुले कुनै मूल्य नतिरीकन हासिल गर्दछ । महाभारत होस् या रामायण बिश्वका सबैभन्दा ठूला युद्धहरु शान्ति हासिल गर्नका लडिएका हुन्। आफ्नो तरबार उठाउ, त्यसलाई धारिलो बनाउ र हरेक दिन लड्न भिड्नका लागि अभ्यास गर’। कतिपय अरु मानिसहरु पनि पिपुल्स रिपब्लिक अफ बंगलादेशलाई जानाजान ‘इस्लामिक रिपब्लिक अफ बंगलादेश’ नामले पुकार्न चाहन्छन् । यो उदेश्यलाई ती बिश्लेषकहरु अत्यन्तै पतित उदेश्यको कुरा मान्दछन् ।
त्यसरी नै बिश्लेषकहरु भन्दछन–कतिपय ट्रोल(चलचित्र जस्तै) र भारतीय जनता पार्टीका नेताहरु पनि भड्काउने खालका कुरा उठाएर समाजलाई गलत दिशा दिन हमेशा तयार देखिन्छन्। तर यतिबेला के गरिनु आवश्यक छ ? भन्ने प्रश्न उठाउँदै आफुहरु बंगलादेशका अल्फसंख्यकहरुको पक्षमा खडा हुुनु पर्दछ । बंगलादेशको अहिलेको अन्तरिम सरकार अल्पसंख्यकहरुको अधिकारको सुरक्षाको लागि आह्वान गरिरहेको छ अनि अल्पसख्यकहरु आफ्ना अधिकारहरको समर्थनमा जुलुश प्रदर्शन सफलतापूर्बक गर्न सकुन् भन्दै उनीहरु के निष्कर्शमा पुग्दछन् भने यी दुइटा कुराले बंगलादेशमा धर्मनिरपेक्ष र लोकतान्त्रिक मूल्यहरुका निम्ति स्थान छ भन्ने दर्शाउँदछ । त्यसको सराहना र समर्थन गरिनु पर्दछ भन्ने उनीहरुको प्रष्ट मत । तर अल्पसंख्यकहरुका अधिकारहरुको हननको बिषयमा एकै किसिमका उपायहरुको अबलम्बन गरिनु पर्दछ । अनि भारतमै पनि अल्पसंख्यकहरुका अधिकारहरुको समर्थन गर्नु पर्दछ जसले गर्दा भारतले छिमेकी देशहरुका लागि एउटा आर्दश या प्रतिमान प्रस्तुत गर्न सकोस् । तर बर्तमान सत्ताले त्यसो गर्ला त भन्ने प्रश्न पनि खडा हुन्छ ।
