सम्पर्क

खानेपानी मन्त्रालयमा बुझायो ध्यानाकर्षणपत्र

मेलम्ची खानेपानी आयोजना र बाढीपिडित सरोकारवालाहरुको तर्फबाट आज खानेपानी मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाएको छ । काठमाण्डौंको खानेपानी समस्या समाधान गर्न सरकारको गौरवको मेलम्ची खानेपानी आयोजना सञ्चालित भएपनि सिन्धुपाल्चोकको समस्या समाधान नभएको भन्दै आज नेकपा एमालेका स्थाई कमिटि सदस्य पूर्व मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा गएको टोलीले खानेपानी मन्त्री प्रदिप यादवलाई ध्यानाकर्षणपत्र बुझाएको हो । मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्ने पहिलो चरणको काम सम्पन्न भइसकेपछि २०७८ असार १ गते आएको बाढीले आयोजनाको मुहानस्थल अम्बाथानमा बनाइएका संरचना पुरिएको छ भने नदि किनारमा थुपारिएको गेग्रानका कारण तटिय क्षेत्रका नदि किनारका बस्ती,खेतियोग्य जमिन,अन्य संरचना र सडकमा क्षति पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहान सार्न ४ अर्ब र दोस्रो चरणको याङि र लार्केको काम गर्न ३१ अर्ब रुपैयाँ एशियाली विकास बैंकसँग सम्झौताको अन्तिम तयारी भइरहेको सन्र्दभमा बाह्रै महिना आवश्यक पर्ने सडक नेपाल सरकारले बनाउनुपर्ने सहमति भएपनि काम अगाडी नबढेको भन्दै ध्यानाकर्षण गराइएको पूर्व मन्त्री तामाङले जानकारी दिनुभयो ।
२०७८ सालमा नदि नियन्त्रण गर्न तत्कालिन सरकारबाट १ अर्ब ५१ करोड बजेट सुनिश्चितता भएको भएपनि सो बजेट अहिलेसम्म पनि प्राप्त नभएको तामाङको भनाई छ । ध्यानाकर्षण पत्रमा मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम गर्नका लागी मेलम्ची अम्बाथान सडक र मेलम्ची भोताङ,दाउचेत,वरुवा,याङि« सडक बनाउने जिम्मा नेपाल सरकारले लिएको देखिएपनि बजेट नभएकाले कि पर्याप्त बजेट विनियोजन गर्न अन्यथा एशियाली विकास बैंकलाई नै सडक बनाउने जिम्मेवारी दिन आग्रह गरिएको छ । त्यस्तै २०७८मा आएको बाढीले अत्यधिक मात्रामा गेग्रान बगाएर ल्याएका कारण नदि उचाइमा आएको र हाल नदि नियन्त्रणका लागी गरिएको प्रयास असफल भएकाले तत्काल गेग्रान बगाउन ध्यानाकषर्ण पत्र मार्फत आग्रह गरिएको छ ।
मेलम्ची खानेपानी आयोजना र स्थानिय समुदायको बिचमा पुलको काम गर्दै आएको स्थानिय सामाजिक उत्थान कार्यक्रम सञ्चालन गर्ने समितिहरुलाई लामो समयदेखि दिइदै आएको अनुदान विगत २ बर्ष देखि बन्द भएकाले पूर्ववत ढंगले कार्यक्रमलाई निरन्तरता दिन,स्थानिय प्रभावितहरुलाई दिइने भनिएको लेभि तत्काल दिनेगरि ब्यबस्था गर्न,नदिले हजारौैं रोपनी खेतियोग्य जमिन,सयौं घर,सयौं ब्यापार ब्यबशाय तथा पूर्वाधारमा क्षति पुगेकाले तिनको पूर्ननिर्माण गर्न र नदि नियन्त्रणका लागी आगामी दिनमा एशियाली विकास बैंकसँग सम्झौता गर्न परियोजना लागतको १५ प्रतिशत नदि नियन्त्रण र पूर्ननिमार्णमा खर्चगर्नेगरी थप बजेट माग गर्न आग्रह गरिएको छ ।
सो कार्यक्रममा एमाले बागमती प्रदेश कमिटि सदस्य हस्त पण्डित,बालकृष्ण देउजा,अशोक चौलागाईं,सिन्धुपाल्चोक जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठ,मेलम्ची खानेपानी विकास समिति सदस्य विष्णुमणी आचार्य,ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ लगायत एमाले सिन्धपाल्चोकका नेता र बाढी पिडितहरुको उपस्थिती रहेको थियो ।