आज साउनको पहिलो सोमबार, देशभरका शिवालय मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हिन्दु धर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ लगायतका मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमबार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ ।
साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
आज काठमाडौं उपत्यकाका प्रमुख शिवालय, पशुपति नाथ, किराँतेश्वर, गोकर्णेश्वर, सन्तानेश्वर लगायतका शिव मन्दिरहरुमा दिनभर नै भक्तजनको भीड लाग्ने गर्छ ।
