सम्पर्क

पहिरोमा परेर दुई यात्रु बस बगे, अर्को यात्रुबसमा ढुंगा लाग्दा चालकको निधन थप विवरण आउन बाँकी

नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आएपनि एउटा बसको केहि भाग मात्र देखिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताउँनु भएको समाचार प्राप्त भएको छ । । हामिलाई प्राप्त समाचार अनुसार काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र बिरगञ्जबाट काठमाण्डौ आउँदै गरेको एन्जल बस भएको बसबाट हाम फालेका ३ यात्रुले बताएपछी बसको पहिचान भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारीका इन्द्रदेव यादवका अनुसार सिमलतालमा बगेका दुई बसमध्ये वीरगन्जबाट काठमाडौँ गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन् । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भिर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको जनाइएको छ । उद्धारका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको जनाइएको छ ।