मौसम पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक जिल्ला लगाएतका ४३ जिल्लामा मनसुनी वर्षाको उच्च जोखिम रहेका भन्दै सतर्क रहन भनेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष बुलेटिन जारी गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अधिकांश जिल्लामा विपद प्रतिकार्यका गतिविधि तत्काल गर्नुपर्ने चेतावनी दिएको हो ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानसहित मधेश, लुम्बिनी र सुदूरपश्चिमका १ र २ स्थानमा मुसलधारे वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यका र अन्य २३ जिल्लामा मध्यम जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी ३ दिन, बाढी, पहिरो, डुबान तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै महाशाखाले आवश्यक पूर्वतयारी गर्न आह्वान गरेको छ । मनसुनी न्यूनचापीय रेखा हिजो रातिबाट अझै नेपालतिर सर्ने सम्भावना रहेको र आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून प्रणालीमा विकसित हुने भन्दै विभागले दुवै प्रणालीले गर्दा नेपालमा मनसुन सक्रिय हुने जानकारी दिएको छ । शनिवार विहानसम्म सुदूरपश्चिम, कर्णाली र अन्य प्रदेशमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर जिल्ला मनसुनी वर्षाको उच्च जोखिममा रहेका छन् । मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी, बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा वर्षाको उच्च जोखिमको सूचीमा छन्। यस्तै, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ जिल्लालाई विभागले रेड जोनमा राखेको छ । यी जिल्लामा तत्काल प्रतिकार्य गर्न महाशाखाले सुझाव दिएको छ ।