जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ८३ वटा मुद्धा फछ्यौट गरेको छ । एक आर्थिक वर्ष विभिन्न प्रकृतिका ६ सय ८३ वटा मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले सम्बन्ध विच्छेद मुद्धातर्फ ३९९ वटा, बालबालिकातर्फ ३ वटा, थुनुवातर्फ २४ र फैसला कार्यन्वयन सम्बन्धि १ सय ५० वटा मुद्धा फछ्यौट गरेको जानकारी दिनुभएको छ । बिहिबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत सिन्धुपाल्चोकका माननीय जिल्ला न्यायधिस भगवती शर्मा ढुङ्गानाले विभिन्न मुद्धाका १ वर्ष भित्रको २ सय ५९ वटा, १ वर्षदेखी १८ महिनाभित्रको १३ वटा, १८ महिना नाघेको १ वटा मुद्धा गरी २ सय ६३ वटा मुद्धा फछ्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो आर्थिक वर्षमा ७१.६७ प्रतिशत मुद्धा फछ्यौट भएको छ । अदालतमा धेरैजसो सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेको न्यायधिस ढुङ्गानाले बताउनुभयो । त्यसमा पनि अधिकांश महिलाहरूले उजुरी दर्ता गर्ने गरेको पाइएको छ । सकेसम्म त्यस्ता घटनालाई न्यूनीकरण गर्न अदालतले मेलमिलापका लागि अधिकतम प्रयास गरे पनि सफल नभएको ढुङ्गानाले जानकारी दिनुभयो । यसैगरी म्याद तामेल २ हजार ६ सय ८० वटा भएको छ भने २ सय १७ वटा म्याद तामेल गर्न बाँकी रहेको तथ्यांकमा उल्लेख छ । कार्यक्रममा जिल्ला अदालत सिन्धुपाल्चोकका श्रेस्तेदार शारदादेवी पौडेल, पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठलगायत जिल्लामा सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।