विपना तामाङ गोले/ चौतारा
सिन्धुपाल्चोक डिभिजन वन कार्यालयले सालकको बासस्थान संरक्षण र व्यवस्थापन सम्बन्धि सचेतना गोष्ठी कार्यक्रम गरेको छ ।
मानिसहरूको जङ्गली स्रोतसाधनसँग परनिर्भरता बढ्दै जाने क्रम बढेसँगै दुर्लभ वन्यजन्तु सालक सङ्कटमा परेको हो । सङ्कटापन्न अवस्थामा रहेको सालक संक्षरण गर्नुपर्नेमा सहभागिहरुले जोड दिँदै सम्बन्धित निकायले पनि सालक संरक्षणमा सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । किसानमैत्री वन्यजन्तुका रूपमा परिचित सालकको मासु र खपटामा औषधीय गुण पाइने भन्दै नेपालबाट चीन र भियतनाममा यसको चोरी तस्करी हुने गरेको छ । सालकको मुख्य आहारा मानिसको बालीनालीमा दुःख दिने धमिरा र किरा मानिन्छ ।
सामुदायिक वन र वैज्ञानिक वनका नाममा अव्यवस्थित रूपमा जङ्गलको घना क्षेत्र मासिन थालेपछि सालकको बसोबास क्षेत्र सङ्कटमा परेको धादिङका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सचेतना गोष्ठीको सहजिकरण गर्दै आचार्यले एकातिर चोरी तस्करी बढेको छ भने अर्कातर्फ बसोबास र आहारा मासिएको बताृनुभयो । उहाँले खास गरी जङ्गली वन्यजन्तुभन्दा पनि मानव आक्रमणबाटै सालक सङ्कटमा परेकाले यसको संरक्षणका लागि बासस्थान जोगाउन मानिसले नै सहयोग गर्नु पर्छ ।” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
आठ प्रजातिका सालकमध्ये संसारमै दुर्लभ मानिएका दुई प्रजाति कालो सालक (चाइनिज प्याङ्गोलिन) र तामे सालक (इन्डियन प्याङ्गोलिन) नेपालमा मात्र पाइन्छ । नेपालमा पाइने स्तनधारीमध्ये कालो सालक एउटै मात्र अन्तर्राष्ट्रिय रूपमै अति सङ्कटापन्न वन्यजन्तु हो । समुद्री सतहदेखि करिब दुई हजार मिटरसम्मको उचाइका वनजङ्गलमा सालक पाइन्छ ।
अति लजालु, संवेदनशील एवं शान्त वातावरणमा बस्न रुचाउने सालकले मानिसलाई कुनै क्षति गर्दैन । हाल नेपालका ४३ जिल्लामा सालक भेटिएको तथ्य सार्वजनिक
भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार सालक पक्रने, शिकार गर्ने, खपटाको व्यापार गर्ने र ओसारपसार गर्नेलाई एकदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । डिभिजन बन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा उक्त कार्यक्रम भएको थियो ।
डिभिजनल वन अधिकृत मदन कँडेललको सभापतित्वमा भएको उक्त कार्यक्रममा वन कार्यालयका कर्मचारीहरु वन अभियान्ता तथा सरोकारवालाहरुको उपस्थिती
रहेको थियो ।
