सम्पर्क

बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान

काठमाण्डौं
बिनोद नेपाल स्मृति फाउण्डेसनको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेको कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभावलाई पुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रममा फाउण्डेसनका सल्लाहकार वंशलाल तामाङ लगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा मन्तब्य राख्दै पुर्वमन्त्री गगन थापाले यस कार्यक्रमले बिनोद नेपाललाई सम्झने अवसर पनि भएको बताउनुभयो । ’विगतलाई सम्झने र जीवन अघि बढाउने कार्यक्रम यहि हो’, थापाले भन्नुभयो । रक्तदान कार्यक्रममा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
फाउण्डेसनले बार्षिक रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेको फाउण्डेशनले जनाएको छ ।

बिनोद नेपाल स्मृति फाउण्डेसनले स्वर्गीय विनोद नेपालको सम्झनामा छात्रवृत्ति कार्यक्रम समेत सरू गरेको छ । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको फाउण्डेसनका अध्यक्ष गंगादत्त नेपालले जानकारी दिनुभयो ।