सम्पर्क

शिक्षकहरुलाई एक दिने बिषयगत तालिम प्रदान

काठमाण्डौ
राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले शिक्षकहरुलाई एक दिने बिषयगत तालिम प्रदान गरेको छ । निसान अन्तर्गत ४० वटा बिद्यालयका शिक्षकरुलाई बिषयगत तालिम दिएको हो । निसानले हरेक बिषयको एक/एक जना बिषय विशेषज्ञ (Expert) हरु मार्फत तालिम दिइएको निसानका अध्यक्ष सौर्यनाथ आचार्यले जानकारी दिनुभयो ।
संस्थागत बिद्यालयका शिक्षकहरु तालिम प्राप्त नहुंदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी नभएको भन्ने देशब्यापी बहस भईरहेको बेला निसानले अंग्रेजी, नेपाली, गणित र सामाजिक बिषय विशेषज्ञ (Expert) द्वारा करिव २०० जना शिक्षकहरुलाई विभिन्न ठाउँमा एक दिने तालिमको आयोजना गरिएको निसानका प्रमुख सल्लाहकार ओमप्रसाद ढकालले बताउनु भयो ।
एकै दिन ४ ठाँउमा सञ्चालन गरिएको उक्त कार्यक्रम लिटल वर्ड स्कुल अत्तरखेलमा नेपाली विषयको, सेलिव्रेसनको एड विद्यालयमा गणित बिषय, गणेश हिमाल स्कुलमा सामाजिक विषय र श्रीयन्त्र एजुकेशन फाउण्डेसन विद्यालयमा अङ्ग्रेजी बिषयको तालिम सञ्चालन गरेको थियो । पाठ्यक्रममा निर्दिष्ट उद्देश्य पूरा गर्न विद्यार्थी केन्द्रित प्रभावकारी शिक्षण कसरी गर्न सकिन्छ भन्ने बिषयमा शिक्षकहरुसँग अन्तरक्रियासमेत गरिएको कुरा निसानका तालिम विभाग प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।
तालिम कार्यक्रम सन्चालन गर्नको लागि टाइम्स, युनिक, युनाइटेड र वेदान्त पब्लिकेसनको सहयोग रहेको संस्थाका महासचिव नवराज सापकोटाले जनाउनु भयो ।