बजारमा तिहार लगायत विभिन्न मेला महोत्सवहरुमा विदेशबाट खरिद गरिएको प्लास्टिक तथा रबरका फूलहरुलाई निषेध गर्ने अभियान आएको छ ।
यसै अभियानलाई मध्य नजर गर्दै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ३ वाफल स्थित वडा कार्यालयमा खोस्टाबाट विभिन्न किसिमका सजावटका फूलहरु बनाउने तालिम सम्पन्न भएको छ ।
लिसंखुपाखर गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा यहि बैशाख १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा उपस्थित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा लगायतको उपस्थितिमा रहेको थियो ।
तालिम समापनसँगै गाउँघरमा खेर जाने मकैको खोस्टाबाट आकर्षक सजावटका फूल हरु बनाईसके पछि त्यसलाई बजार सम्म जोड्ने र विभिन्न समारोहमा यस्तै प्रकृतिका फूल प्रयोग गर्न सकिने कुरालाई गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनु भयो । यसैगरी कार्यक्रममा उपस्थित गाउँपालिकाका उपाध्यक्ष मिठुदेवी लामाले यस किसिमको कार्यक्रमले महिला दिदी बहिनीलाई स्वरोजगारको अवसर सिर्जना हुने र यसलाई आयआर्जन सँग जोड्दै लाने कुरामा निरन्तरता दिनु पर्ने र आगामी दिनहरुमा गाउँ पालिकाले यस्ता कार्यक्रम हरुलाई निरन्तरता दिईने प्रतिवद्धता व्यक्त गर्नु भयो । वडा अध्यक्ष मान बहादुर तामाङले गाउँघरमा खेर जाने वस्तुहरुबाट आकर्षक फूलहरु बन्ने कुरा आफुले थाहा पाए पछि यो कार्यक्रम सञ्चालन गर्ने कुरामा आफ्नो जोड बल रहेको र यसलाई व्यवस्थित बनाउने कुरामा आफू सधै प्रतिपद्ध रहेको बताउनु भयो ।
यसरी स्थानीय श्रोत साधनबाट आकर्षक सामग्री बन्ने भएपछि गाउँ घरमा स्वरोजगार र आयआर्जनको राम्रो बाटो खुल्ने देखिन्छ ।
