सम्पर्क

राप्रपाको प्रदर्शन तत्काल नवीन सम्झौताको लागि तयार गर्न सरकारलाई अनुरोध

संघियता खारेजी, हिन्दु राष्ट्र र राजतन्त्र फर्काउनु पर्ने सहितका ४० बुँदे माग राख्दै जनप्रदर्शन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल नवीन सम्झौताको लागि तयारी गर्न सरकार र प्रमुख दलहरूलाई आग्रह गरेको छ ।
राजधानी काठमाण्डौमा भएको प्रदर्शनपछी सभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले “म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । तत्काल नवीन सम्झौताको लागि तयारी हुनुस्, तयारी गर्नुस्, जहाँ राजादेखि माओवादीसम्म सबै मिल्ने सबै अट्ने नयाँ व्यवस्था निर्माण गरौँ र देशलाई नवीन सम्झौताबाट अगाडि बढाऔँ ।“ भन्नुभयो ।
उहाँले राजादेखि माओवादीसम्म ’सबै मिल्ने सबै अट्ने’ व्यवस्थाको प्रस्ताव गर्नू भएको हो । प्रदर्शनको क्रममा भद्रकालीमा भेला भएका प्रदर्शनकारीलाई पूर्वतर्फ रहेको सिंहदरबार अगाडिको बाटोमा जान प्रहरीले रोक लगाएपछि केहीबेर त्यहाँ तनावपूर्ण अवस्था देखिएको थियो ।
अध्यक्ष लिङ्देनले “गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनाका रूपमा राख्नेछौँ । आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि राप्रपाले थपेर अघि लैजान्छ,“ “तपाईँले निषेधित क्षेत्र घोषणा गरेर आफ्नो सीमा तोक्नुभएको छ ।
हामी अहिले त्यहाँ जान नपाउने दिन बनाउनुभयो । तर एक दिन आउनेछ, तपाईँले त्यहाँबाट कतै निस्किन नपाउने अवस्था बनाउने छौँ ।
“आफूहरूले शान्तिपूर्ण ढङ्गले विरोध प्रदर्शन गर्न आग्रह गर्दा गृहमन्त्रीले राज्य शक्तिको तागत देखाएको आरोप लगाउँनु भयो । डेढ महिनाअघि ४० बुँदे माग राखेर ती माग पूरा गर्न सरकारलाई दबाब दिन भन्दै मंगलबार राप्रपाले गरेको प्रदर्शन भद्रकालीबाट अगाडि बढ्न नपाएपछि त्रिपुरेश्वर हुँदै थापाथली पुगेर सभामा परिणत भएको थियो । प्रधानमन्त्री प्रचण्डलाई फागुन ९ गते ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएपछि सरकारले आफ्ना मागको सम्बोधन नगरे राप्रपाले सडक र सदनबाट भद्र र शान्तिपूर्ण आन्दोलन गर्ने बताउँदै आएको थियो ।
राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्र मात्रै नभई माइतीघर, सिंहदरबार र त्रिपुरेश्वर क्षेत्रमा सवारी
साधन आवागमनमा बाधा पुगेको थियो भने सर्वसाधारणलाई यात्रा गर्न दिनभरि नै कठिनाई भएको थियो । राप्रपाको ४० बुँदे मागका सुरुका चार बुँदामा अभिभावकीय भूमिकामा राजसंस्था, वैदिक सनातन हिन्दु अधिराज्य, प्रदेश संरचनाको खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने कुरा उठाइएको छ । कार्यकारी पदमा बस्नेहरूका लागि दुई कार्यकालको सीमा तोक्ने, जनप्रतिनिधिहरूको सङ्ख्या घटाउने, संवैधानिक नियुक्तिमा भागबन्डा नगर्ने, दलीय भात सङ्गठनको खारेजी लगायतका विषय पनि छन् ।
त्यसबाहेक जनताका दैनिक जीवन र सरोकारसँग जोडिएका विषयवस्तु पनि ४० बुँदामा समेटिएका छन् । श्रमिकहरूको सुविधा, निःशुल्क स्वास्थ्य तथा सुविधा, बिमा, राज्यका निकायको डिजिटाइजेशन, २०४६ सालयताका उच्च पदस्थ नेताको सम्पत्ति छानबिन र लघुवित्त–सहकारीको नियमन एवं पीडितहरूलाई राहत, एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने लगायतका विषय पनि छन् । उक्त दलले कृषि, पर्यटन, रोजगारी सिर्जना, विकास निर्माणको प्रभावकारिता, भू उपयोग नीति, परराष्ट्र नीति, समावेशिता,
विदेशमा रहेका नेपालीको मताधिकार सहितका विषय पनि मागमा समेटेको छ । राप्रपाको मङ्गलबार भएको प्रदर्शनमा प्रहरी तर्फ ७ र प्रदर्शनकारी तर्फ १८ जना घाइते भएको छन भने तिन जनालाई पक्राउ गरिएको जानकारी प्राप्त भएको छ ।