सम्पर्क

रोयल इभेन्टस बेङ्क्वेटको चौथो वार्षिकोत्सव सम्पन्न

२०८० चैत्र ३ गते शनिबार  हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा  केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११ (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा  प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र  र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो ।
केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रले पी.पी. कोइरालाको डगल्यान्ड, अनु विज्ञातिको अक्षररेखा, सीता रेग्मीको शब्दयात्राका साथमा केन्द्रका लघुकथा र विविध (संयुक्त लघुकथासङ्ग्रह) गरी चार लघुकथासङ्ग्रह पनि सार्वजनीकरण गरेको छ ।
केन्द्रको प्रकाशनमा प्रकाशित चार पुस्तकको सार्वजनीकरण ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, डा. रवीन्द्र समीर, नारायण तिवारी, स्रष्टा त्रय पी. पी. कोइराला, अनु विज्ञाति,  सीता रेग्मी तथा केन्द्रका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष लता केसीले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
 विमोचनपछि मिसु श्रेष्ठ , वीरेन मालाकार ` सहयात्री´, गङ्गा दाहाल न्यौपाने र निर्मला बरालले लोकार्पित कृतिबाट एक एकओटा लघुकथा वाचन गर्नुभएको थियो ।
केन्द्रले आफ्नो वार्षिकोत्सव कार्यक्रममा दोस्रो चरणअन्तर्गत ३५ जनालाई केन्द्रको आजीवन सदस्य प्रदान गरेको छ । हालसम्म केन्द्रले ८९ जनालाई आजीवन सदस्य प्रदान गरिसकेको छ ।
हाम्रो लघुकथा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सत्या अधिकारीले उपस्थित अतिथिको स्वागत गर्नुभएको थियो भने वन्दना घिमिरेले सम्मानित स्रष्टाको परिचय दिनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि डा. रवीन्द्र समीर, गङ्गा कर्माचार्य पौडेल, ध्रुव मधिकर्मी, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, स्रष्टा त्रय पी. पी. कोइराला, अनु विज्ञाति, सीता रेग्मीले आआफ्ना मन्तव्य राख्नुभएको थियो ।
२०७६ चैत्र ३ गते स्थापना भएको हाम्रो लघुकथा केन्द्रको उक्त वार्षिकोत्सव कार्यक्रममा शेखर अर्याल, किशन पौडेल, श्यामप्रसाद श्रेष्ठ, विनोद नेपाल, इन्दिरा चापागाईँ, रत्न विरही घिमिरे, कुमुदप्रसाद शर्मा, रामकुमार पण्डित, दीपक लोहनी, कात्यायन, डा. हिमलाल श्रेष्ठ, लोकनाथ पुडासैनी, वन्दना घिमिरे, मन्दिरा चापागाईँ रामराजा केसी, समिर पाख्रिन, मनीषकुमार शर्मा समित, रासा, मधुसुूदनप्रसाद घिमिरे, शान्ता शर्मा, कल्याण पन्त, सुनिता निरौला पौडेल, रमेश सुवेदीलगायत सय  जना लघुकथाप्रेमीहरूको उपस्थिति थियो । केन्द्रका अध्यक्ष लता केसीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शुभ शर्माको उद्घोषणमा सम्पन्न भएको थियो ।
* २०८०  फागुन २८ गते सोमबार  घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ ।
 चालीस शृङ्खलासम्म साहित्यपोस्टमा सञ्चालित लघुकथा प्रतियोगितामा उत्कृष्ट ठहर गरिएका १ सय १८ लघुकथाबाट
 चरणवद्धरुपमा  मूल्याङ्कन गर्दै अन्तिम चरणमा  श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. कपिल लामिछाने सम्मिलित तीन सदस्यीय छनौट समितिले सर्वोत्कृष्ट तीन लघुकथाको छनौट गरेको हो । जसअनुसार  दीप मङ्ग्राती निरीहको लघुकथा ‘पूजा’ प्रथम, शुभ शर्माको लघुकथा ‘प्रतिप्रश्न’ द्वितीय तथा दिव्य गिरीको लघुकथा ‘नवदुर्गा’ तृतीय   भएको  छ साथै  रचना शर्माको लघुकथा ‘मेरो बैँस’ र किशन पौडेलको लघुकथा ‘खुशी’ सान्त्वनाका रूपमा उत्कृष्ट पाँचभित्र रहन सफल  भएको खबर साहित्यपोष्टले जानकारी गराएको छ ।
  प्रथम, द्वितीय र तृतीय  सर्वोत्कृष्ट  स्थान  हासिल गर्ने स्रष्टाहरूले  क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पुरस्कारका साथमा १०–१० थान चर्चित आख्यानका कृतिहरू उपहारस्वरूप प्राप्त गर्नु हुनेछ  र  ४० सातासम्म चलेको प्रतियोगितामा हरेक साता छानिएका उत्कृष्ट लघुकथाहरूलाई सङ्ग्रहको रूप दिएर  वर्षका उत्कृष्ट लघुकथा पुस्तकको प्रकाशन  घोस्ट राइटिङ् प्रा. लि.ले प्रकाशन गर्नेछ भनेर साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालले जानकारी गराउनु भएको छ ।
* भेटघाट र वार्ताका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले  २०७९ फागुन ३ गतेदेखि सुरू भएको  विलोम अभियानले २०८० फागुन २९ गते मंगलबार छैटौँ शृङ्खला सम्पन्न गरेको छ।
 यसपटक विलोम अभियन्ताहरूले  स्रष्टा विधान आचार्यसँग  भेटघाट गरेको  छ ।आचार्यको निवास,खुमलटार,ललितपुरमा पुगेर  अभियन्ताहरूले  नेपाली लघुकथाको इतिहासदेखि लघुकथाको पद्धति, लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार,  विषयवस्तु , यसको  स्तर र  लघुकथाको  भविष्यबारे तीन घण्टा कुराकानी गरेका थिए ।
* चैत्र महिनामा हाम्रो लघुकथा केन्द्रमा  पोष्ट भएका   लघुकथा सङ्ख्या   ५३१ रहेको र  नयाँ लघुकथाकार थपिने क्रम जारी रहेको छ। यस महिनामा  नयाँ लघुकथाकारहरू ,
* अनिल सुनार
* सीता कोइराला
*अशोक न्यौपाने
*उषा शर्मा सापकोटा
*हरिहर दाहाल
*तीर्थ गुरागाईँ
*नवराज पोखरेल` नवशिला´
*भाष्कर मैनाली शर्मा रहनु भएको  जानकारी   चौबिस घण्टामा लघुकथा कार्यक्रमका  संयोजक तथा   व्यबस्थापक छविलाल  खड्काले  गराउनु  भएको छ ।
 *  नेपाल भारत दूताबास, काठमाण्डौँको आयोजनामा चैत्र ७ गते बुधबार , नेपाल भारत पुस्तकालय , न्युरोडमा `नेपाल भारत साहित्य समारोह´ अन्तर्गत पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ ।
स्वामी विवेकानन्द सास्कृतिक केन्द्र, काठमाडौँका छात्रा नेहाको सुमधुर वाणीमा  सरस्वती वन्दना र बिधाको सम्मानमा   `हाम्रो लघुकथा गान ´बजाएर कार्यक्रमको सुरू गरिएको थियो ।  उक्त अवसरमा भारतीय साहित्यकार  डा. स्वेता दीप्तीको ` टुकडोंमे बटी जिन्दगी´’कहानी सङ्ग्रह ( लघुकथा र कथाको मिश्रित )  विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती भूपाल राई ,  विशिष्ट अतिथि हाम्रो लघुकथा केन्द्र नेपालका अध्यक्ष लता केसी, अतिथि आख्यानकार नारायण तिवारी , अर्का अतिथि स्नेह सायमि ,  कृतिकार डा. स्वेता  दीप्ती ,  उद्घोषक सत्येन्द्र दहियाले कृतिको सामूहिक विमोचन गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि श्री राईले नेपाल र भारतको सदियौँ देखिको राजनितिक , भौगोलिक ,कुटनितिक ,सांस्कृतिक सम्बन्ध  रहेको जिकिर गर्दै यस्ता साहित्यिक कार्यक्रमले यदाकदा भएका राजनीतिक र भौगोलिक तिक्तकालाई  नाश गरेर सम्बन्ध सुमधुर बनाउन भुूमिका खेल्ने बताउनु भयो । मन्तव्यको क्रममा  विशिष्ट अतिथि श्रीमती केसीले नेपाली लघुकथाको अवस्थाबारे चर्चा गर्दै साहित्यको क्षेत्रमा आजको समय भनेको लघुकथाको समय हो भन्नु भयो ।
कार्यक्रममा  नेपाली स्रष्टा नारायण तिवारी र लता केसीले नेपाली भाषामा , स्नेह सायमिले नेपाल भाषामा  र भारतीय  स्रष्टाहरू डा. स्वेता र डा. आसावरी बापटले हिन्दी भाषामा  लघुकथा वाचन गर्नु भयो ।
 नेपाल भारत दूतावास , काठमाण्डौँका सत्येन्द्र दहियाले सञ्चालन गर्नु भएको सो समारोहमा दुई देशका करिब  पाँच दर्जन स्रष्टाहरूको  उपस्थिति रहेको थियो । समारोहका अध्यक्ष  स्वामी विवेकानन्द सास्कृतिक केन्द्र, काठमाडौँका  डाइरेक्टर डा. आसावरी बापटले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
* स्रष्टा लक्ष्मी पोखरेलको कसका लागि ? लघुकथासङ्ग्रहको  विमोचन भएको समाचार प्राप्त भएको छ ।
 पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक समारोहमा चैत्र ९ गते बिराटनगरमा कृतिकार ,  विवश पोखरेल , गङ्गा सुवेदी , कविराज न्यौपानेलगायत स्थानीय विद्वानवर्गबाट कृतिको सामूहिक  विमोचन  गरिएको थियो ।
 प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि कविराज न्यौपाने , प्राध्यापक  हरिहर भण्डारी र साहित्यकार भूषण ढुङ्गेलले उक्त कृतिमाथि समीक्षा गर्नुभएको थियो ।
प्रतिष्ठानका सचिव मीन नबोदितले स्वागत मन्तव्य राख्दै समारोहमा  उपस्थित सबैलाई स्वागत गर्नु भयो । यसैगरी साहित्यकार बलराम पोखरेल, कृष्ण भन्डारी मार्सेली, प्रेम ओझा, गङ्गा सुवेदी, देवी पन्थी र रामबाबु दाहालले  आ आफ्ना मन्तव्य प्रकट गर्नुभएको थियो ।
प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा   स्रष्टा  प्रतिमा निरौला, प्रिन्स प्रमोद ढकाल, लक्ष्मी रायमाझी,  पुष्पा बराल्र र उमा सिजापतिले विमोचित कृतिबाट लघुकथा वाचन गर्नुभएको थियो । कृतिकार लक्ष्मी पोखरेलले अग्रज सहित्यकारहरुको मार्गदर्शन पाएर आफुले साहित्य सृजना गर्न थालेको बताउनुभयो ।
* यसैगरी चैत्र ९ गते शुक्रबार भैरहवामा स्रष्टा वनमाली निराकारको
 नयाँ सालिकको जन्म लघुकथासङ्ग्रहको विमोचन भएको छ ।
 आफ्नो ७५औँ जन्मदिनको अवसर पारेर स्रष्टा निराकारले  आफ्ना ससाना नाति नातिनीद्वारा  कृतिको विमोचन गर्नु भयो ।  आफन्तजन र केही स्रष्टाहरूको माझमा रात्रि भोजको आयोजना गरेर सो कार्यक्रम गरिएको थियो ।
* लघुकथाकार कृष्ण बजगाईंको  ६१ वटा लघुकथा समाहित छैठौँ लघुकथासङ्ग्रह  नग्न स्वप्नको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
चैत १७ गते शनिबार  राजधानीस्थित पद्मकन्या क्याम्पसको डेनिस हलमा भुँडीपुराण प्रकाशनको आयोजनामा सो कार्यक्रम  भएको हो । कार्यक्रमका प्रमुख अतिथि डा.  शम्भु आचार्य  र अतिथिगण , प्रा. डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा .लेखप्रसाद निरौला, डा फणीन्द्रराज निरौला, श्रीओम श्रेष्ठ रोदन, कृतिकार बजगाईं र प्रकाशक केशव पराजुलीले  कृतिको सामूहिक विमोचन गर्नु भयो ।
 प्रमुख अतिथि डा. आचार्यले  मन्तव्यको क्रममा सर्जकले सरल भाषामा लेख्ने गरेकोले सबैले बुझ्न सक्ने र   कृतिकार बजगाईंका रचनाहरु विद्यालय र क्याम्पसहरुमा पनि पढिने गरेको बताउनु भयो ।
 प्रा.डा. लक्ष्मणप्रसाद गौतमले  आकारले सानो हुँदैमा लघुकथा नहुने  भन्दै  बजगाईंका लघुकथा सशक्त रहेको बताउनु भयो । बजगाईं लघुकथाकारको रुपमा परिचित भइसकेकोले अब लघुकथाको इतिहास लेख्दा उहाँको नाम छुट्यो बने इतिहास नै अपूर्ण रहने बताउनु भयो । यसैगरी श्रीओम श्रेष्ठ रोदनले  नग्न स्वप्नले  विशिष्ट योगदान ओगट्न सकोस् भन्दै कृतिकारलाई  शुभकामना दिनु भयो । बजगाईं विदेशमा बसेर स्वदेशको नेपाली साहित्यमा हस्तक्षेप गर्न सक्ने एक शक्तिशाली स्रष्टा भएको उहाँले बताउनु भयो ।
प्रकाशक केशव पराजुलीले लेखक बजगाईंसँग चिनजान र भेटघाट नभए पनि  उहाँका पुस्तकहरू भूँडीपुराणले  नियमित प्रकाशन गरिरहेको र  विदेशमा रहेर पनि स्वदेशप्रतिको माया र नियमित सिर्जना कठिन काम भएपनि  त्यसलाई बजगाईंले व्यवस्थापन गरेको बताउनु भयो ।
 * लघुकथा प्रतिष्ठानको  नियमित लघुकथा वाचनको ५९औं
 शृङ्खलाले निरन्तरता पाएको समाचार प्राप्त भएको छ ।
 लघुकथा प्रतिष्ठान पोखराले  २०७४ चैतदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित मासिक  लघुकथा वाचन गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिँदै चैत  १० गते शनिबार  पोखरामा  प्रतिष्ठानका कार्यवाहक अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा   मासिक  लघुकथा वाचनको कार्यक्रम  सम्पन्न भएको  हो ।
 सो कार्यक्रममा ,सरुभक्त,  गीता तिवारी ,ढाकामोहन बराल, डा. बलराम उपाध्याय ,अल्पविराम पोखरेली  र कल्याण पन्त लगायतका
लगभग दुई दर्जन  स्रष्टाले लघुकथा वाचन गर्नु भयो ।
 उक्त  कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अमृत क्षेत्रीले गर्नु भएको थियो ।
 * स्रष्टा दीपक समीपद्वारा लिखित नदीको राजमार्ग लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
 चैत्र १७ गते शनिबार जुम प्रविधिमार्फत् स्रष्टा साँझ अमेरिकाले सो कार्यक्रम आयोजना गरेको थियो। परिचर्चाकारहरू रञ्जु खनाल , ममता  मृदुल, संजीव पौडेल , ईश्वरमणि अधिकारी र खेमराज पोखरेलले कृतिभित्र समेटिएका  सबै  लघुकथाहरूमाथि विश्लेषण गर्दै आआफ्ना विचार व्यक्त गर्नु भयो ।
  कृतिभित्र समाहित लघुकथाहरूको चिरफार गर्दै परिचर्चाकारहरुले  जीवनमा भोगेका सूक्ष्म घटना र अनुभवहरू संगालेको , शील्प र बुनोटले उत्कृष्ट रहेको , शीर्षकमा कुतुहुलता रहेको, विषयवस्तुमा विविधता  ,  चित्रात्मक र  कलात्मक प्रस्तुति  , सांकेतिक अभिव्यक्ति पाइने बताउनु भयो । आयाममा   कतिपय लघकथाहरू लामो हुनु ,  वयान र विवराणात्मक शैली रहनु तर  संवाद शैलीलाई वेवास्ता गरिनु , विषयमा  चिन्तन पक्ष न्यून रहनु , विद्रोह , परिवर्तन र अग्रगमनको भाव नपाइनु  जस्ता कमी कमजोरीहरू पनि औल्याउनु भयो ।
प्रा. विश्वराज अधिकारीले सँञ्चालन गर्नु भएको सो कार्यक्रममा सभाध्यक्ष  भवानीप्रसाद पाण्डेले कुनै पनि साहित्यिक कृति बोध , बुद्धि , उत्तेजना चिन्ताका दृष्टिले रचिन्छ भने त्यो सामान्य हुन आउँछ तर विवेक , अनुभूति र चिन्तनका दृष्टिले रचिएका कृतिहरु उत्तम हुने  बताउनु भयो । उहाँले  कृतिको विश्लेषण गर्दा वस्तुगत हिसाबले मात्र हेरिनु हुँदैन बल्कि त्यसको  सैद्वान्तिक र दार्शनिक पक्षलाई पनि हेर्दा सम्पूर्णता पाइन सक्ने बताउनु भयो ।
कृतिकार समीपले यस्ता कार्यक्रमले कृतिकारलाई हौसला र मार्ग निर्देशन गर्ने बताउँदै  आयोजक लगायत उपस्थित सबैलाई धन्यवाद दिनु भयो ।
* यसैगरी लक्ष्मी पोखरेलद्वारा लेखिएको कसका लागि? लघुकथासङ्ग्रहको पनि परिचर्चा भएको छ ।
 चैत्र २४ गते शनिबार , स्रष्टा साँझ अमेरिकाको आयोजकत्वमा  प्रा . विश्वराज  अधिकारीले सञ्चालन गर्नु भएको सो परिचर्चा कार्यक्रममा  परिचर्चाकारहरू दीपक लोहनी , सञ्जय शाह मित्र र भुषण ढुङ्गेल  र अतिथि डा. मुकुन्द पथिकले कृतिको परिचर्चा गर्नु भएको थियो । ।
कसका लागि पुस्तकमा समेटिएका ६२ वटा लघुकथाहरूमा सामाजिक यथार्थ  , पारिवारिक विसङ्गति , क्रान्तिकारी र परिवर्तनशील भाव , नारी र पुरुष मनोविज्ञान , मानवीय प्रवृति विषय बोलेको पाइएको बताउँदै कमीकमजोरीहरु सुधार गर्न सुझाव दिनु भयो । ममता मृदुलले कृतिकारलाई शुभकामना दिनु भयो । कृतिकारले समाजमा देखेका र भोगेका अनुभूतिलाई लघुकथामा पस्किएको बताउनु भयो साथै सुझावहरूलाई आत्मसात गर्दै अघि बढने भन्दै  लेखनमा प्रोत्साहित गर्ने सबै पक्षलगाएत आयोजकलाई धन्यवाद दिनु भयो।
 *  २०८० चैत १७ गते , शनिबार  भक्तपुरमा एकदिने लघुकथा पुस्तक मेला  सम्पन्न भएको छ ।
 नेपाली लघुकथाको इतिहासमा  नै लघुकथाका पुस्तहरूको यो   मेला  पहिलो पटक  सम्पन्न भएको हो । लघुकथा कृतिको प्रवर्द्वन र श्रष्टा–पाठकबीच संवाद स्थापित गर्ने हेतुले मेलाको आयोजना गरिएको  समाजका सचिव ध्रुव मधिकर्मीले बताउनु भयो ।
 प्रदर्शनीमा वनमाली निराकार, पुष्कर भट्ट, हरि थापा, लता केसी, मञ्जु काँचुली, शेखरकुमार श्रेष्ठ, कुसुमाकर शर्मा, रुद्र अधिकारी, मनीषकुमार शर्मा, किरण आचार्य, ममता मृदुल, श्याम श्रेष्ठ, सुरेन्द्रलाल भुजू दीप मग्रांती, लक्ष्मण थापा, कल्याण पन्त, अल्पविराम पोखरेली, सृजन लम्साल, म्यामराज राई, हरिगोविन्द भोमी, दीपक समिप, छविलाल खड्का , शुभ शर्मा , पी पी कोइराला
अनु विज्ञाति , सीता रेग्मी ,  मीरा काफ्ले लगायत करिवन १५० जना स्रष्टाका पुस्तकहरू राखिएका थिए ।
  सो अवसरमा मिरा काफ्लेद्वारा लिखित मिरा काफ्लेका लघुकथा नामक  पुस्तक विमोचन गरिएको थियो ।
सिर्जना अभियान  समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा  लघुकथामा सामाजिक सञ्जालको प्रभाव बारेमा विमर्शन कार्यक्रम रहेको थियो । सो अवसरमा प्रा. डा. कपिल लामिछानेले उद्धेश्य अनुरुप मेला सार्थक भएको र पहिलो पटक यसरी लघुकथा पुस्तक मेला भएकोमा खुशी व्यक्त गर्नु भयो ।
स्रष्टाहरू  नारायण तिवारी , बिधान आचार्य , दीपक लोहनी  आदिले आआफ्ना विचार राख्नु भयो । यसै क्रममा हाम्रो लघुकथा केन्द्र , नेपालको प्रतिनिधित्व गर्दै संस्थाका सदस्य वन्दना घिमिरेले आफ्नो विचार व्यक्त गर्नु  भएको थियो ।
 लघुकथाको इतिहासमा नयाँ संस्कारको थालनी गरेको र  कार्यक्रमले सार्थकता पाएको  प्रत्यक्षदर्शीहरूको अभिमत रहेको थियो ।
* नयाँ वर्ष २०८१ भित्रिदै गरेको अवसर पारेर चैत्र  २४ गते शनिबार हाम्रो लघुकथा केन्द्र , नेपालले संस्थाको आजीवन सदस्यहरूको सद्भावपूर्ण भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
सदस्यहरूका  बीचमा आपसिक एकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले सो भेटघाट कार्यक्रम जुम प्रविधिमार्फत् गरिएको हो ।
आजीवन सदस्य प्रा. डा. कपिल लामिछानेको अध्यक्षतामा  सम्पन्न सो कार्यक्रमको उद्घाटन  पानसमा दीप प्रज्ज्वलन  र लघुकथा गान बजाएर गरिएको थियो । कार्यक्रममा  संस्थाका संरक्षक राजु क्षेत्री अपुरो , डा. शेखरकुमार श्रेष्ठ , सुरेशकुमार पाण्डे , शान्ता शाक्य , विवेक शर्मा गौतम , प्रतिज्ञा प्रतिज्ञा , त्रिलोचन ढकाल , मदन पोखरेल , दामोदर अधिकारी , उमेश कार्की , किरण आचार्य , मिसु श्रेष्ठ ,रूद्र ज्ञवाली , सीता रेग्मी लगायत ४३ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रका सदस्य वन्दना घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नु भयो ।  केन्द्रको फेसबुक पेजका व्यबस्थापक छविलाल खड्काले  केन्द्रमा आबद्ध सम्पू्र्ण सदस्यहरुलाई शुभकामना दिनु भयो । संस्थाका कोषाध्यक्ष सत्या अधिकारीले संस्थाको आर्थिक पाटोमाथि प्रकास पार्नु भयो । केन्द्रका अध्यक्ष लता के. सी. ले  व्यक्तिभन्दा माथि संस्थालाई राखेर आपसी एकता र सकारात्मक सोचले केन्द्रको बिस्तारमा लाग्न  सबै सदस्यहरुलाई  अनुरोध गर्नु भयो ।
 सो अवसरमा उपस्थित सदस्यहरू अनु विज्ञाति ,  डा . कुसुमाकर शर्मा गौतम ,मनीषकुमार शर्मा `समित ´ , ध्रुवराज थापा , इन्दिरा देवकोटा , इन्दिरा चापागाईं , मन्दिरा चापागाईँ , रमेश सुवेदी ,प्रार्थना खनाल , रमेन्द्र कोइराला , अन्जु शर्मा , लक्ष्मण ज्ञवाली , रोशन पराजुली  लगायतका २ दर्जन सदस्यहरूले  संस्था , विधा  र आजीवन सदस्यको विषयमा केन्द्रित रहेर तिनमा  देखिएका  समस्या , समाधान , सुझाव र अनुभवबारे आआफ्ना धारणा  व्यक्त गर्नु भयो ।
केन्द्रका आजीवन सदस्य खेमराज पोखरेलले लघुकथामा सामाजिक सञ्जालको प्रभाव विषयमा कार्यपत्र  प्रस्तुत गर्नु भयो । प्रस्तुत गरिएको कार्यपत्रमाथि सदस्यद्वय  असफल गौतम र रुद्र अधिकारीले टिप्पणी गर्नु भएको थियो ।
 कार्यक्रमका अध्यक्ष  प्रा. डा. कपिल लामिछानेले  कार्यक्रमको समीक्षात्मक टिप्पणी  गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भयो र कार्यक्रमको समापन गर्नु भयो । कार्यक्रमको सञ्चालन  संस्थाका सहसचिव पौडेल बिमुन्सले गर्नु भएको थियो ।