डोल्पाको ठुलिभेरि नगरपालिका–४ मा पर्ने मष्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो सोमबार पुनः लागेपछि आगो निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक जवान घाइते भएका छन् ।
घाइते हुनेमा ३० वर्षीया प्युठ विजय कोइराला, ३८ वर्षीय जमदार केशरबहादुर मगर, २८ वर्षीय जवान हेमन्त रावत र २३ वर्षीय जवान आशिष बुढा रहेको संग्राम सार्दुल गुल्म सुलिगार्डका सेनानी अशोककुमार कार्कीले जानकारी दिनुभयो । यसैबिच सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले वनमा डडेलो लगाउदै गरेको अबस्थामा स्थानीय प्रशासनको सहयोगमा एक जना ब्यक्तीलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सेलताप सामुदायिक वनमा आगो लगाउदै गरेको अवस्थामा २६ वर्षिय मिलन लामालाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्यले वन डढेलो नियन्त्रणमात्र होइन जानी जानी वन डढेलो लगाउँनेलाई पनि खोजी गरि सप्रमाण सहित कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय र वन कार्यालय, स्थानीय बिपद ब्यवस्थापन समितीहरुलाई अनुरोध गरेसँगै प्रहरीले वनमा आगो लगाउदै गरेको अबस्थामा आइतबार पक्राउ गरेको हो ।
बलेफी गाउँपालिका वडा नं. ७ का लामालाई पक्राउ गरी जलबीरे प्रहरीले सो सामुदायिक वन समितिलाई बुझाएको थियो । उक्त वन समितिले सव डिभिजन वन कार्यालय जलबिरेमा जाहेरी सहित लामालाई बुझाएका थिए । सोमबार सव डिभिजन वन कार्यलय जलबिरेले लामालाई जिल्ला वन डिभिजन कार्यालय चौतारामा बुझाइएको थियो । वन कार्यालयले वन ऐन अनुसार मुद्धा दर्ता गरी लामालाई जिल्ला प्रहरी कार्यलयमा बुझाएको छ । वनमा आगो सल्काउदै गरेको अवस्थामा पक्राउ परेका लामालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक डिएपी निरन्जन भट्टाराईले जानकारी दिनुभयो । विभिन्नमा वनहरुमा आगो लगाई गुपचुप बसेकाहरुलाई खोजी कार्य गरी वनले मुद्धा चलाउने काम भइरहेको जिल्ला वन कार्यलयका छैठौ अधिकृत रमेश दुलालले बताउनुभयो । कसुर भएमा वन ऐन २०७६ को दफा ४९ खण्ड घ अन्तर्गत क्षति विगो असुल गरी तीन वर्ष कैद वा ६० हजार रुपैया जरिबाना वा दुवै सजाय हुनसक्छ । साथै वनमा डडेलो लगाउने ब्यक्ति थाहा पाएमा तुरुन्त वन कार्यलय वा प्रहरीमा खबर गर्न समेत दुलालले आग्रह गर्नुभएको छ । पछिल्लो समयमा वन डढेलो लाग्ने क्रम बढ्दै गए पछी वनकार्यलय लगाएत प्रशासन कार्यलय तथा स्थानीय हरु वन डढेलो लागेको कारण खोजी गर्दै जानी जानी वनमा आगोलगाउँनेहरुको खोजी गरिरहेका छन् ।
