सम्पर्क

योजना मापदण्डभित्र रहेर गुणस्तरीय कार्य गर्न नगरप्रमुख तामाङको निर्देशन

 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १२ बाहुनीपाटी माझीगाउँ थाक्ले सडकको निर्माणाधीन कालोपत्रे तिब्र गतिमा अघि बढिरहेको छ ।
शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतको टोलीले अनुगमन गर्नुभएको छ । स्थलगत अनुगमन गर्ने क्रममा नगरप्रमुख तामाङले निर्माण भइरहेको योजना मापदण्ड भित्र रहेर गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
मेलम्ची नगरपालिका वडा नं. १२ स्थित बाहुनीपाटी माझीगाउँ थाक्ले सडक खण्ड २०६४/६५ सालमै ट्र्याक खोलिसकिए पनि अहिलेसम्म स्तरोन्नति हुन सकेको थिएन । सो सडक ढलान र कालोपत्रे गरि ७५० मिटरको रहेको छ ।
भ्याट सहित २ करोड ७२ लाखमा सम्झौता भई एसआरबि बिल्डर्स प्रालिले सो सडकको कालोपत्रे र ढलान गर्ने कार्य गरिरहेको मेलम्ची नगरपालिकाका इन्जिनियर राजु दंगालले जानकारी दिनुभयो । सो सडकको कालोपत्रे गरिसक्नुपर्ने म्याद असार २० सम्म रहेको छ ।
अनुगमनको क्रममा उपस्थित स्थानिय समाजसेवी प्रशान्त नेपालले छोटो समयमै गाउँमा सडक पुगेकोमा खुसी व्यक्त गर्नुभयो । ’भिरपाखाको बाटो निकै डरलाग्दो थियो’, उहाँले भन्नुभयो ’अहिले गाउँमा गाडी पुगेको छ’ । सडक निर्माणका सवालमा अहिलेको स्थानीय सरकार संवेदनशील देखिएको भन्दै उहाँले यसलाई सबैले सराहनीय कार्यका रूपमा लिएको बताउनुभयो । स्थानीय सरकारका प्रतिनिधि मात्र नभई स्थानीय जनतामा पनि आफ्नो गाउँलाई सडक सञ्जालले जोड्ने हुटहुटी देखिएकोले सडक निर्माण तिव्र गतिमा भइरहेको वडा नं. १२ का वडाध्यक्ष गणेश बहादुर तामाङले बताउनुभयो ।
गाउँ गाउँका सडक पक्की बनाउन थालिएपछि स्थानीय पनि उत्साहित भएका छन् ।