नवलपुर
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकाले आधारभूत तह कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षा दिएकामध्ये १६ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् भने पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ ।
आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय र श्री परोपकार आधारभूत विद्यालय रहेका छन् ।
ईन्द्रावती गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्याङ्क अनुसार पालिकाका कक्षा ८ सम्म सञ्चालित १९ वटा विद्यालयबाट ४८० जना विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए । जसमा ७७ जना विद्यार्थीले मात्र न्युनतम ग्रेड प्राप्त गरेका छन् ।
विषयगत रुपमा नेपालीमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३३ जना रहेका छन् । अङ्ग्रेजीमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५९ जना रहेका छन् । गणितमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५० जना रहेका छन् । विज्ञानमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ७४ जना रहेका छन् । सामाजिकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३० जना रहेका छन् । स्वास्थ्य शारीरीकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ८८ जना रहेका छन् । स्थानिय विषय (हाम्रो इन्द्रावती) मा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ६५ जना रहेका छन् । पालिकाले मौका परिक्षाको लागि आउँदो आइतबार बाट पुनः परिक्षा लिने तयारी गरेको छ । मौका परिक्षामा ३ विषयसम्म फेल हुनेले सहभागी हुन पाउने भएका छन् । पुनः परिक्षा सम्बन्धित विद्यालयले नै लिने बताइएको छ ।
