यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नियमित तर्फको परीक्षा आजबाट सम्पन्न भएको छ । चैत १५ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।
देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको परीक्षातर्फ प्राविधिक तर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने चालू रहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा नियन्त्रक पौडेलले भन्नुभयो, “साधारण तर्फको नियमित विषयका परीक्षा आजदेखि सकिएको छ तर प्राविधिक धारतर्फका परीक्षा भने २७ गतेसम्म सञ्चालन हुनेछ, पुरानो पाठ्यक्रममा रहेको स्वास्थ्य जनसङ्ख्या तथा वातावरण विषयको स्तरवृद्धि परीक्षा पनि बाँकी छ, २७ गतेदेखि एसइईका सबै परीक्षा सम्पन्न हुन्छन् ।”
परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउँदै उहाँले परीक्षा अवधिभर देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरेको जानकारी दिनुभयो ।
परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फाराम भरेका थिए । कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् ।
