सम्पर्क

चौतारा नगरपालिकाको सार्वजनिक सुनुवाई कुरा होइन काम गर्ने सापकोटाको भनाई

चौतारा साँगाचोकगढी नगरपालिकाको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले कुरा गरेर होइन काम गरेर देखाउँन पर्छ भन्नु भएको छ । उहाँले बिहीबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो बताउँनु भएको हो ।
सार्वजनिक सुनुवाइमा उठेका प्रश्नको जवाफ दिदै नगर प्रमुख सापकोटाले आफुले उत्पादनमुखी र स्वोरोजगार उद्योमीलाई प्राथमिकता दिएको, गुणस्तरिय शिक्षाका लागी बिभिन्न कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कसैलाई काख कसैलाई पाखा गर्ने काममा आफु नरहेको बताउँदै सल्लाह र सुझाबका लागी सँधै नगरपालिकामा ढोका खुल्ला रहेको बताउँनु भयो ।
नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा गरेका काम र सेवा प्रवाहको सार्वजनिक सुनुवाइ गरेको हो । सार्वजनीक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले चालु आर्थिक वर्षभित्र नगरपालिकाद्वारा भए गरेका कार्य सम्पादन, सेवा प्रवाहका बारेमा जानकारी दिनुभएको थियो । उहाँले नगरपालिकाले २० करोड ४१ लाख ८४ हजार ३ सय ४४ रुपैया ५ पैसा राजस्व संकलन गरेको बताउनुभयो । यो चालु आर्थिक वर्ष ०८०÷८१ मा साउन देखि फागुनसम्म कुल बजेटको ४३ प्रतिशत रकम खर्च भएको जानकारी दिदै पुँजीगत तर्फ ३३.४ प्रतिशत र चालु तर्फ ४६.६ प्रतिशत रकम खर्च गरेको बताउँनु भयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरुले सम्बन्धित पक्षसंंग प्रश्न र गुनासो राखेका थिए । नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, कृषि सामाग्री, पुर्वाधार विकास , पर्यटन, सिंचाइ, खानेपानी, बजारका पार्किङ, अपाङगता, कला सँस्कृती र फोहोर ब्यवस्थापन लगायतका विषयमा सहभागीहरूले प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रम झुल्का मिडीया प्रालीको समन्वयमा नगर सभाहलमा गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जिवन श्रेष्ठ राजनीतदलका नेताहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधी पत्रकारहरु, नगरपालिका भित्रका वडा अध्यक्ष, वडासदस्य नगरपालिकाको कर्मचारीहरु एवंम् सर्बसाधरणको उपस्थिती रहेको थियो ।
नेपाल पत्रकार महासंघका सचिब बिदुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तब्य राख्दै उपप्रमुख सिता थापाले नगरपालिकाले गरेका कामहरुका बारेमा नगरपालिकामा सँधै सुझाव दिन सकिने भएतापनी यो सार्वजनीक सुनुवाइको कार्यक्रम पनि गरेर सुझाब लिने काम गरिएको बताउँनु भयो ।