सरकारले मेलम्ची खानेपानी आयोजनाबाट उपभोक्ताहरुलाई बाह्रै महिना पानी वितरण गर्ने गरी अध्ययन सुरु गरिसकेको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ नै स्तान्तरण गरेर उपभोक्ताहरुलाई स्थायी रुपमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको हो । वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘ हेडवर्क्स’ नै जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द हुने गरेको छ । हिउँदमा आयोजना सञ्चालन गर्नुपर्ने र वर्षायाममा खोल्नुपर्ने अवस्था अन्त्य गर्न हेडवर्क्स नै अनेत्र स्तानान्तरणको तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धाराधारामा पानी वितरण गर्न हेडवर्क्र्स नै स्तानान्तरण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभएको छ । “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुआत भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ,” उहाँले भन्नुभयो, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ ? लागत कति लाग्छ ? थाहा पाउन अनुसन्धान गरिरहेका छौँ, अध्ययनका लागि इञ्जिनियरिङ संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।”
