पिस्कर
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ३ धुस्कुनको सुनकोसीमा रहेको सिद्दिकाली आधारभुत विद्यालयले विद्यार्थी संख्या बढाउन र टिकाउन विभिन्न योजनाहरु ल्याएको छ । घटदै गएको विद्यार्थी संख्यालाई बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठन गर्दै आएको थियो । फाल्गुन २८ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कार्यरत शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आउदो शैक्षिकसत्रदेखि अनिवार्य आफ्नो बच्चालाई सोही विद्यालयमा अध्यापन गराउनु पर्ने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिकास श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको विव्यास सदस्य प्रवेश श्रेष्ठले बताउनु भयो । निर्णयमा भनिएको छ,सिद्दिकाली आधारभूत विद्यालयमा विद्यार्थी बढाउने अभियानबाट लाग्दै गर्दा अब नयाँ शैक्षिक सत्र बाट यसै विद्यालयमा अध्यापन गराउने शिक्षक एवं विद्यालय व्यवस्थापन समितिमा रहनु भएका पदाधिकारीहरुको बच्चा अनिवार्य यसै विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरियो । बालबिकास देखि कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि विद्यालयले विद्यार्थी आकर्षण गर्ने विभिन्न योजना समेत ल्याएको छ । गाउँपालिकाले आउदो शैक्षिकसत्रमा विद्यार्थी संख्या कम भएका विद्यालय मर्ज गर्ने तथा दरबन्दी मिलान गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनु भयो ।
