सम्पर्क

मेलम्ची बजार अनुगमन, अवैध रुपमा बेच्न राखिएका ८० लिटर पेट्रोल जफत

   सिन्धुपाल्चोकको मेलम्ची बजार अनुगमनको क्रममा अनुमति बिना बजार क्षेत्रमा तलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्ने बिक्रि वितरण गर्ने ४ वटा पसलहरुबाट ८० लिटर पेट्रोल जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोक, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेल र मेलम्ची नगरपालिकाको संयुक्त टोलिले मंगलबार मेलम्ची बजार क्षेत्रमा रहेका बिभिन्न होटल तथा पसलहरुको एकसाथ बजार अनुगमन गरेको थियो । बजार अनुगमनका क्रममा खाद्य पसल ९, होटल ४, बेकरी तथा मिठाई पसल ४ हार्डवेयर २, खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्रि गर्ने पसल ४, भेटेनरी तथा औषधी पसल ५ गरी २८ होटल तथा पसलहरुमा बिज्ञ टोली सहित अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका बिभिन्न सामानहरु जफत गरी खाद्य सुरक्षा सम्बन्धि मापदण्ड पुरा नगरेको बेकरी हाउसलाई १५ हजार जरीवाना गरिएको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख बिश्वनाथ काफ्लेले बताउनुभयो । जफत गरीएको अखाद्य बस्तु नष्ट गरिने र पेट्रोलियम पदार्थलाई नियमानुसार बिक्रि गरी राजश्व दाखिला गरीने उहाँको भनाई छ । यस्तै भेटेनरी तथा औषधी पसलहरुको अनुगमनको क्रममा व्यवसायीहरुलाई मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख अस्मिता भण्डारीले औषधीको म्याद सकिनु भन्दा १ महिना अगावै फिर्ता गर्न, बिषादी विक्रेता इजाजत पत्र पसलमा राख्न, विक्रेताले मास्क, ग्लोब्स, जुत्ता, चश्मा लगायतका सुरक्षा विधीलाई अवलम्बन गर्न सल्लाह समेत दिनुभयो ।
बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी सहित उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख बिश्वनाथ काफ्ले, खाद्य प्रविधि तथा गुणस्तर कार्यालय धुलिखेलका पुर्ण प्रसाद पौडेल, नेपाल उपभोक्ताहित संरक्षण मञ्च सिन्धुपाल्चोकका अध्यक्ष संसार श्रेष्ठ, स्वास्थ्य कार्यालय चौताराका राजाराम कार्की, मेलम्ची नगरपालिका बजार अनुगमन समितिका संयोजक किरणदीप खड्का, मेलम्ची नगरपालिका – ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, उपभोक्ताहित संरक्षण मञ्च मेलम्चीका संयोजक शालिकराम अधिकारी, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष जगन्नाथ चालिसे, मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर प्रसाद धिताल, शसस्त्र प्रहरी वेस क्याम्प मेलम्चीका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश फुयाँल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक राजेन्द्र थापामगर, मेलम्ची नगरपालिका राजश्व शाखाका प्रमुख राजेन्द्र दुलाल लगायत अन्य प्रहरी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।