सम्पर्क

सँधै नागरिकको साथमा प्रहरी रहेको महशुस हुने गरी काम गर्नेछु ः खड्का

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले सँधै नागरीकको साथमा प्रहरी रहेको महशुस हुनेगरी काम गर्ने र सँधैभरी शान्ती सुरक्षाका महशुस दिलाउँने गरी काम गर्ने आफ्नो पहिलो कर्तब्य भएको बताउँनु भएको छ । उहाँले आम नागरीकको सुरक्षाका लागि आफु २४ सै घण्टा नागरिकको साथमा रहेको महशुस हुने गरी काम गर्ने बताउँनु भयो । उहाँले कुनै पनी स्थानमा अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालयले बिभिन्न प्रकारबाट पहल गरिरहेको र यदि भइ हाले तत्काल प्रहरी घटना स्थल पुगी दोषीलाई कार्वाहीको दयारामा ल्याउँने बताउँनु भयो । विशेष ब्यूरो राजनीतिक अन्वेषण शाखा नक्साल, काठमाडौंबाट सरुवा भई सिन्धुपाल्चोकको कमाण्डर सम्हाल्न आउँनु भएको प्रहरी उपरिक्षक खड्काले शुक्रबार सञ्चारकर्मीहरुसँग परिचयात्मक भेटघाटको कार्यक्रममा यस्तो बताउँनु भएको हो ।
सो अबसरमा जनतालाई सुरक्षाको अनुभूति गराउनु नै आफ्नो कर्तव्य भएको बताउनु हँुदै जनताको सुरक्षाका लागि कुनै कसुर बाँकी नराख्ने समेत बताउँनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठलगायतका सञ्चारकर्मीहरुले जिल्लाको वस्तुस्थिति, शान्ति सुरक्षा, अपराध नियन्त्रण र सञ्चारकर्मीहरुसँगको सहकार्यका विषयमा आ–आफ्ना भनाईसँगै सुझाव ध्यानाकर्षण गराउँनु भएको थियो । प्रहरी उपरीक्षक खड्काले राष्ट्रको चौथौं अंगको रुपमा रहेको सञ्चारजगतको शसक्ततालाई आफूले सम्मानका साथ हेर्ने गरेको बताउँदै जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सञ्चारकर्मीहरुको भूमिका पनि उल्लेखनीय रहेकोले सञ्चारकर्मीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।