सम्पर्क

यमुनाडाँडा स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा सुरुवात

  कुमार बस्नेत (अधिराज)
नेपालमा पहिलो पटक सिन्धुपाल्चोकको यमुनाडाँडा स्वास्थ्य चौकीका फिजियो थेरापी सेवा सुरु भएको छ । सुनकोसी गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नवनिर्मित स्वास्थ्य चौकीको शनिवार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फिजियो थेरापी सेवा सुभारम्भ गर्नु भएको हो । मन्त्री बस्नेतले सो

अवसरमा फिजियो थेरापीका सामग्री हस्तान्तरण गर्नु भएको हो । देशभरिका स्वास्थ्य चौकीमध्ये यमुनाडाँडामा सुरु भएको फिजियो थेरापी सेवा संभवतः पहिलो हो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले नव निर्मित स्वास्थ्य चौकीमा थप सेवा सुरु हुनु खुशीको कुरा भएको बताउँदै बिकास निर्माणका काममा आफू सधै क्रियाशिल रहने बताउनु भयो । स्वास्थ्य चौकीमा तला थपेर स्वास्थ्यकर्मीको क्वाटर बनाएर सहज सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप ३८ लाख रुपैयाँ बिनियोजन गरेको बताउदै यहाँको स्थानीय बिकासको लागि आफू अझै १५ वर्ष सक्रिय राजनीति गर्ने दाबी गर्दै एमाले र माओवादी पार्टीका नेताहरुले भन्दा आफुले सबैभन्दा बढि काम गरेको दाबी गर्नुभयो । कार्यक्रममा स्वास्थ्य चौकीका अध्यक्ष भोजलाल श्रेष्ठले मन्त्री बस्नेतको पहलमा सुरु भएको फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । सुनकोसी गाउँपालिकाका पुर्व अध्यक्ष श्रवणकुमार जोसीले आफ्नो कार्यकालमा विकास निर्माणका काम तिब्र गतिले गरेकोले अहिले उद्घाटनका काम भइरहेको बताउदै पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण अध्यक्षमा गत वर्षको स्थानीय निर्वाचनमा आफुले थोरै मतले पराजय भोग्नु परेको स्मरण गर्दै जनताको सुखदुख र विकासमा आफु सधै साथमा रहेको बताउनु भयो ।

फिजियोथेरापिष्ट डा. निष्ठा श्रेष्ठले नेपालमै पहिलोपटक स्वास्थ्य चौकीमा फिजियो सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यो सेवा सुरु भए पछि स्थानियबासीले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनु भयो । स्वास्थ्य चौकीलाई आवश्यक सामग्री र तालिमको व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्ने श्रेष्ठले बताउनु भयो । स्वास्थ्य चौकी इन्चार्ज अमर तामाङले स्वास्थ्य चौकीमा फिजियो थेरापी सेवा थप गरि दिनु भएकोमा स्वास्थ्य मन्त्री बस्नेतप्रती कृतज्ञता व्यक्त गर्नुभयो ।