स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले आज सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका चौतारामा ‘क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०’ दोस्रो चरणको शुभारम्भ गर्नु भएको छ । कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्नु भएको हो ।
“क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हो, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ ।“ मन्त्री बस्नेतले भन्नुभयो ।
मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले क्षयरोग निर्मुलका लागि संघीय र प्रादेशिक सरकार भन्दा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पार्नुभयो । नेपालले भ्याक्सिन मागेर भएपनि कोभिडको बिरुद्धमा लडेर विजय प्राप्त गरेको बताउनु हुँदै उहाँले यसका लागि लाग्ने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्रले मृत्यु हुनेहरुको संख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउनु हुँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राख्नुभयो । उहाँले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक छ भन्नुहुँदै स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धिको लागि पनि विभागले निरन्तर काम गर्ने बताउनु भयो । क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक छ भन्नुहुँदै उहाँले यो महत्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राख्नुभयो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानको बिषयमा प्रस्तुतिकरण गर्नुहुँदै प्रतिवर्ष २ सय २९ जना क्षयरोगका विरामीहरु भेटिने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । यो रोग निर्मुलका लागि स्थानीय तहलाई जिम्मेवार बनाएर रोगको पहिचान गरि उपचारको दायरामा ल्याउने उद्देश्य रहेको बताउनु हुँदै उहाँले बागमती, मधेश र लुम्बिनीमा क्षयरोगका बिरामी बढि देखा परेको बताउनु भयो ।
चौतारा साँगाचोकगढी नगरपालिका कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर लागि पर्ने वताउनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकिय प्रमुखहरु लगायतकको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्भालन चौतारासाँगाचोकगढी नगरपालिकाका उपसचिब पुष्प राज ढकालले गर्नु भएको थियो भने नगर उप प्रमुख सिता थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको लोकप्रिय नेत्रज्योती ले प्रत्यक्ष प्रशारण गरेको थियो ।
