सम्पर्क

चौतारा बहुमुखी क्याम्पसलाई क्युएए प्राप्त

विपना तामाङ गोले
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारा सदरमुकाम स्थित रहेको चौतारा बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसअनुसार क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख नगेन्द्र प्रसाद दंगालले बताउनुभयो ।
लामो समयको अथक प्रयासपछि क्याम्पसले क्युएए प्राप्त गर्न सफल भएको हो । यो सफलता सानो मिहेनेतले प्राप्त नभएको, सिङ्गोे क्याम्पस परिवारको कठोर मिहेनत र परिश्रमको परिणाम भएको क्याम्पस प्रमुख दंगालले बताउनुभयो ।
गरे के हुँदैन, मिहिनेत गर्ने हो भने जस्तो सुकै चट्टान फोरेर भएपनि सफलताको शिखरमा पुग्न समय लाग्दैन । चौतारा बहुमुखी क्याम्पसलाई पनि यस्तै सफलता मिलेको छ । २०५८ सालमा स्थापना भएको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तहमा विज्ञान शिक्षा र व्यवस्थापन सङ्काय र स्नाकोत्तर तहमा शिक्षा सङ्कायको नेपाली र अंङ्ग्रेजी दुबै माध्यममा अध्यापन हुने गर्दछ । छात्राबासको समेत सुबिधा रहेको क्याम्पसमा जिल्ला कै १२ वटै पालिकाका बिद्यार्थीहरु अध्ययनरत छन् । क्यूएए पाउनका लागि क्याम्पसले नीति तथा प्रक्रिया, पाठ्यक्रम, अध्ययन अध्यापन तथा मूल्यांकन, अनुसन्धान, परामर्श तथा विस्तार, पूर्वाधार तथा सिकाइ स्रोत, भौतिक सुविधा तथा पाठ्यसामग्री, विद्यार्थी मागनिर्देशन, सूचनाप्रणाली र जनसम्पर्क गरी आठ शीर्षकमा आफूलाई अब्बल साबित गरेको छ ।
क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुनेगर्छ ।