घोर्थली
सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ घोर्थलीमा रहेको कागेश्वरी माबिले आफ्नो स्थापनाको ७१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस आइतबार भब्यरुपमा मनाएको छ ।
प्रमुख अतिथि नेपाल सरकारको स्वास्थ तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा त्रिपुरासुन्दारी गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क र कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेको कारण अभिभावकहरुलाई सहज भएको बताउनु भयो । अब अभिभावकहरुले आफ्नो बालबालिकाहरुको बारेमा विशेष चासो दिन अनुरोध समेत गर्नुभयो ।
शिक्षकहरुले एसइइ को नतिजामा ध्यान दिएर शिक्षण क्रियाकलापमा लाग्न समेत अनुरोध गर्दै निमावि देखि कागेश्वरीलाई माध्यमिक तह बनाउन आफ्नो सहयोग रहेको स्मरण गर्दै कक्षा १२ निःशुल्क पढाउने अभियान त्रिपुरासुन्दरीबाट सुरु भएकोले लाभ लिन अभिभावक हरुलाइ अनुरोध गर्नुभयो ।
आफुले शिक्षा क्षेत्रमा पहिलादेखि नै उल्लेखनीय काम गर्दै आएकोले अझै सहयोग गर्न लागिपर्ने बताउनु भयो । बाह्रबिसेबाट कालिङ्गचोक जोड्ने सडक बनेमा पर्यटकीय क्षेत्र बन्न सक्ने भएकोले सडकको स्तर उन्नति गर्न लागि पर्ने बताउनु भयो । त्रिपुराको बिकासमा आफ्नो योगदान र सहयोग रहेको बताउदै अझै सहयोग गर्न सधै लागिपर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि बागमती प्रदेशको बन तथा वातावरण मन्त्री मसिना खड्का ( भण्डारी ) ले बदलिँदो समय अनुसारको शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । विद्यार्थी संख्या र भूगोलको आधारमा विद्यालय मर्ज गर्नु पर्ने विद्यार्थीहरुमा शिक्षामा प्रतिस्पर्धाको भावना बिकास गर्नुपर्ने बताउनुभयो । घोर्थली र कागेश्वरी माबिको स्तर उन्नतिको लागि सधैं साथ र सहयोग रहने बताउनु भयो। गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले विद्यालयमा घटदै गएको विद्यार्थी हरुको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउन लागी पर्न अनुरोध गर्नुभयो । उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको हो ।
विद्यार्थीहरुको मौलिक नृत्यले कार्यक्रमको रौनक थपेको थियो । विद्यालय ब्यावस्थापन समितिको अध्यक्ष रमेश खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल ,वडा नं. २ चोकटीका वडा अध्यक्ष रमेश राउत, वडा वडा नं. ६ टेकानपुरका वडा अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा, वडा नं. १ घोर्थलीका वडा अध्यक्ष सिताराम थापा लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विद्यालय स्थापनाकालका संस्थापकहरुको सालिक समेत अनावरण गरिएको थियो भने कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रधानाध्यापक तेजबहादुर बस्नेतले प्रस्तुत गर्नुभएको थियो ।
