कुमार बस्नेत (अधिराज )
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मेडिकल शिक्षा अब नेपालमै पढ्न पाउने व्यवस्था लागू हुने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आयोजित राष्ट्रपति रनिङशिल्ड कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै, शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरे मुलुकमा कुनैपनि कुरा सम्भव नहुने बताउनु भयो ।
आफू सानैदेखि शिक्षा क्षेत्रको सुधारमा लागेकोले अब सरकारले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिदै अहिले स्वास्थ्य मन्त्रालयले मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था लागू गर्न लागेको छ, त्यसका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र मुख्यसचिव र स्वास्थ्य मन्त्रालयले छलफल गरेर यस विषयलाई अघि बढाएको मन्त्री बस्नेतले बताउनुभयो ।
नेपालमा मेडिकल शिक्षा पढ्न धेरै गाह्रो हुँदै आएको हँदा ८२प्रतिशत ल्याएकाहरूले समेत अहिले मेडिकल शिक्षा पढ्न पाउन सकेका छैनन् त्यसैले अब नेपालमै सस्तो र गुणस्तर मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था लागू हुने उहाँले बताउनुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रको समस्याले गर्दा युवाहरूमा डिप्रेसन पैदा भएकोले यसलाई छिट्टै समाधान गर्नतर्फ लाग्नु पर्ने उहाँले बताउनु भयो । मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था नेपालमा लागू भए कम खर्चमा पढ्न पाउने र नेपालबाट विदेश पैसा जान रोकिनेमा आफू ढुक्क रहेको उहाँले दाबी गर्नुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा एक सय देखि तीन सयसम्मको बेड रहेको अस्पतालमा नर्सिङ र प्यारामेडिक्स पढ्न पाउने र ३ सय देखि ५ सय सम्मको बेड भएका अस्पतालले डाक्टर पढ्न पाउने गरि मेडिकल शिक्षा लागू गर्न लागेको बताउनु भयो ।
त्यस्तै बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले खेलकुद क्षेत्रको विकासको लागि नगरपालिकाले सहयोग गर्दै आएको खेल क्षेत्रको लागि स्थानीय सरकारले प्रोत्साहन गर्दै आएको बताउनु भयो ।
