सम्पर्क

सात धारा महादेव मन्दिरमा बाेम्बाे (झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम

पाण्डव अधिकारी

बोम्बो ( झाँक्री ) सम्मेलन तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।    आज मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित सातधारा दुप्चेश्वर मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङको नेतृत्वको टोली, मनोत्र तामाङको नेतृत्वको टोली, छिमेकी पालिका र नगर भित्रका विभिन्न वडाबाट र स्थानीय स्थानीय झाँक्रीहरूले प्रदर्शन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि आइतमान तामाङले आफू परम्परा,संस्कृति र मूल्य मान्यता अनुसार झाँकी भएको बताउनुभयो । उहाँले नेपाली संस्कृतिलाई भुलेर पराइको संस्कृतिलाई आँखा चिल्लेर पछ्याउने विकृतिबाट मुक्त पार्न सबै जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुले आ-आफ्नो रीतिरिवाजमा जागरण पैदा गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा अनेक जाति र तिनका भाषा, वेश र परम्परा छन्। ती सबैका साझा विशेषता सँगै बाँचौँ र हाँसौँ भन्ने हो । नगर प्रमुख तामाङले भन्नुभयो-” विविधता बिचको एकता नेपाली संस्कृतिको मूल विशेषता भएकोले नेपाली संस्कृति लोप हुनबाट जोगान सबै सजग र सचेत रहदै संरक्षण गर्नुपर्छ ।” मेलम्ची नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष किरणदीप खड्काले नेपाली संस्कृतिको जग शिष्ट, सभ्य र सुसंस्कृत आचरण तथा परम्परामा आधारित भएकोले पुस्तान्तरण सँगै अनुकरण गर्न आग्रह गर्नुभयो । आफ्नो कला- धर्म र संस्कृतिको संरक्षण गर्न आफैं अग्रसर हुनुपर्ने सातधारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष कमलबहादुर खड्काले बताउनुभयो । कार्यक्रममा लोक गायक सूर्यमणी आचार्य, पदम दुलाल, गायिका आशा लामा, सेलो गायक ओम तामाङ वाइवा, चन्द्रप्रसाद कोइरालाको खैजडी भजन टोलीले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । माघी पर्वको अवसरमा बर्षैपिच्छे यो मन्दिरमा मेला लाग्ने गर्दछ । मेला भर्न मन्दिरबाट छिमेकमा पर्ने इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका भक्तजनहरुको समेत भिड लाग्ने गर्छ ।