जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले जाडोको मौसममा हुने बिभिन्न घटनाहरु हुन नदिन सतर्कता अपनाउँन अनुरोध सबैमा अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार चौतारामा बसेको बैठकले यस्तो अनुरोध गरेको हो । बैठकले जाडो मौसममा आगो ताप्दा, हिटर बाल्दा, गिजर मार्फत नुहाउँदा निसास्सियर ज्यानै जान सक्ने र आगो तापेपछी ननिभाउँदा आगलागी समेत हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस सम्बन्धी सबैमा चेतना फैलाउँने निर्णय भएको छ । बैठकले कोभिड–१९ संक्रमणको नयाँ सव–भेरीएन्ट जे.एन १ को जोखीम बढ्न सक्ने भएकोले सतर्कता अपनाउँन अनुरोध गरेको छ ।
यसैगरी स्थानीय तहहरुमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापनागरी सक्रिय गराउँन स्थानीय तहलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । मनसुनजन्य बिपद प्रभाबित पुनःनिर्माण तथा पुनःस्थापना कार्यबिधि २०७७ बमोजिम कायम भएका पुनःस्थापना लाभग्राहीहरुको सुरक्षित जग्गाका लागि स्थानीय तहबाट भएका सिफारिसका आधारमा लाभग्राहीहरुको जग्गा कित्ता काट र खरिद प्रकृयामा सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ ।
स्थानिय तहका प्रमुख, उपप्रमुख, विपद् सम्बन्धी सम्पर्क ब्यक्तिहरु विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थितीमा बसेको बैठकले बाह्रबिसे, चौतारा साँगाचोकगढी नगरपालिका लगायतमा भएका आगलागी तथा बिभिन्न घटनामा परेकालाई राहत उपलब्ध गराउँने निर्णय गरेको छ । बैठकले विपद् व्यवस्थापन कार्यमा भएका प्रगति र आगामी योजना बारेमा जिल्ला प्रशासन कार्यालयबाट प्रस्तुतिकरण तथा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, प्राक्टिकल एक्सन र राइम्स नेपालबाट परियोजनाले गरेका कार्य र आगामि योजनाको बारेमा प्रस्तुतिकरण भएको थियो ।
